१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

नेपालको आर्थिक वृदिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

१६ असाेज, काठमाडाैँ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने जनाइएको हो ।

अघिल्लो आर्थिक वर्ष मा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदनमा आर्थिक वृद्धिदरको मुख्य आधारका रुपमा उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनलाई उल्लेख गरेको छ ।

विश्व बैंकले आज सार्वजनिक गरेकाे नेपाल डेभलपमेन्ट अपडेट अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव विषयक प्रतिवेदनमा सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर लयमा फर्कने उल्लेख छ ।

नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष सन् २०२६ मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेकाे छ । केन्द्रिय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरुमा गरिएको सहजीकरणका कारण नेपालको आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहने जनाइएकाे छ ।

प्रतिवेदनले बहु जोखिमहरू समेत पहिचान गरेको छ । जसअन्तर्गत वित्तीय प्रणालीमा उच्च जोखिमसहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको निरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पुँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता लगायतका कारण देखिएका छन् । व्यापार अवरोध जसले पर्यटन र आन्तरिक मागलाई कम गर्न सक्ने जस्ता जोखिमहरू रहेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार १८:०५