१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

ऊर्जामन्त्री खड्कासँग नर्वेका राजदूतको शिष्टाचार भेट

१५ असोज, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि नर्वेका राजदूत तोरन द्रामदलबीच शिष्टाचार भेट भएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–नर्वे सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।नर्वे नेपालको महत्वपूर्ण विकास साझेदार भएको तथा ऊर्जा क्षेत्रमा ६० वर्षभन्दा बढी समयदेखि नर्वे सरकारको सहयोग रहेको बताउनुभयो । दिगो ऊर्जा र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न तथा जलविद्युत् उत्पादनमा नर्वे सरकारको योगदान अमूल्य रहेको भन्दै मन्त्री खड्काले त्यसको सराहना गर्नुभयो ।

नेपालको जलविद्युत्, प्रसारण र वितरणमा रोजगारीका लागि तालिम कार्यक्रम, सिभिल, इलेक्ट्रिकल र हाइड्रोमेकानिकल क्षेत्रमा स्थानीय विशेषज्ञता विकास गर्न नर्वेको सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । तिनाउ, आँधीखोला, झिम्रुक, खिम्ती, माथिल्लो तामाकोशीलगायत ठूला जलविद्युत् आयोजना र लघु जलविद्युत् आयोजना निर्माणमा नर्वे सरकारको सहयोग छ ।

मन्त्री खड्काले विद्युत उत्पादन क्षमता विस्तार गर्नुका साथै प्रसारण लाइन, सबस्टेशन र ग्रामीण विद्युतीकरणमा तत्काल सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उक्त कार्यमा नर्वेको सहयोगको अपेक्षा गर्नुभएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

राजदूत द्रामदलले नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि नर्वे सरकारको सँधै साथ र सहयोग रहने बताउनुभयो ।

उहाँले नेपाली विद्यार्थीलाई नर्वेमा जलविद्युत्सम्बन्धी उच्च शिक्षा अध्ययनार्थ छात्रवृत्ति प्रदान गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा प्रसारण लाईनको विकासमा समेत नर्वे सरकारले सहयोग गर्ने बताउनुभयो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार १४:१८