प्रचण्डलाई सुनेनन्, अन्ततः १५ वर्षीया सदीक्षाले आफ्नै कमाइले बनाइन् गाउँको पुल
२४ कात्तिक, काठमाडौँ । दुई पटक प्रधानमन्त्री भइसकेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रकी १५ वर्षीया किशोरी सदीक्षा ओलीले गाउँको भत्किएको पुल निर्माण गरेर उदाहरण प्रस्तुत गरेकी छन् ।
रूकुमको भूमे गाउँपालिका–९ लुमा गाउँकी कक्षा १० मा अध्ययनरत सदीक्षाले पटकपटक जनप्रतिनिधि र सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि सामाजिक सञ्जाल फेसबुकबाट गरेको आम्दानीबाट करिब ६० हजार रुपैयाँ खर्च गरेर काठको पुल बनाएकी हुन्।
सामान्य किसान परिवारमा हुर्किएकी सदीक्षा सामाजिक सञ्जाल फेसबुक र टिकटकमा समेत लोकप्रिय छिन् । उनले गाउँको समस्या समाधानका लागि पहिले सामाजिक सञ्जाललाई नै माध्यम बनाइन्। गत असारमा दोमै खोलाको पुरानो पुल बर्खाको भेलले भत्किएपछि विद्यार्थी, वृद्धवृद्धा, स्थानीय तथा गाईबस्तुलाई खोला वारपार गर्न जोखिम भएपछि उनले त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरिन्।
गत भदौ १ गते उनले फेसबुकमा भिडियो राख्दै तत्कालीन प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रचण्डलाई ‘प्रचण्ड बाजे’ भन्दै गाउँको अवस्था देखाएर पुल बनाइदिन आग्रह गरेकी थिइन्।
‘प्रचण्ड बाजे, कता हुनुहुन्छ ? हाम्रो यहाँ पूर्वरुकुमबाट चुनाव जितेर मात्रै जानुभयो, यहाँ पुलको हाल हेर्नुस्,’ उनले भिडियोमा भनेकी थिइन्, ‘भाँचिएर हामी खोलाबाट तरेर जानुपर्छ । गाईबाच्छालाई बगाउन सक्छ, हामी मान्छेलाई पनि बगाउन सक्छ । बच्चाहरू यहाँबाट स्कुल आवतजावत गर्छन् । त्यसैले यहाँ पुल बनाइदिनुपर्यो।’
उनको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो। धेरैले उनको साहस र प्रश्न गर्ने शैलीको प्रशंसा गरे। तर, भिडियो भाइरल भए पनि पुल निर्माणका लागि सम्बन्धित निकायबाट ठोस पहल भएन।

त्यसपछि सदीक्षाले अरूको बाटो कुर्न छाडिन्। सरकारले नसुनेको समस्या आफ्नै कमाइबाट समाधान गर्ने निर्णय गरिन्।
फेसबुक खाता मोनिटाइज भएपछि उनका भिडियोबाट आम्दानी हुन थालेको थियो। त्यही रकम जम्मा गर्दै उनले गाउँको पुल निर्माणमा खर्च गर्ने निधो गरिन्। स्थानीय आफन्त र गाउँलेको सहयोगमा गाउँमै उपलब्ध काठ प्रयोग गरेर तीन दिनको मेहनतपछि करिब चार मिटर लामो काठे पुल तयार भयो।
पुल निर्माणमा जस्तापाता, किलाकाँटा तथा दक्ष कामदारको ज्यालासहित करिब ६० हजार रुपैयाँ खर्च भएको छ। उक्त रकम सदीक्षाले फेसबुकबाट गरेको आम्दानीबाट व्यहोरेकी हुन् भने स्थानीयले श्रम तथा अन्य आवश्यक सहयोग गरेका थिए।
‘धेरै समयसम्म पुल बनाउनेतर्फ कसैले चासो देखाउनुभएन। आवतजावत गर्न निकै समस्या थियो। त्यसपछि म आफैं पुल बनाउन लागेँ,’ सदीक्षाले भनेकी छन्।
पुल बनेपछि लुमा गाउँका बासिन्दालाई दैनिक आवतजावतमा सहज भएको छ। विद्यालय जाने बालबालिका, वृद्धवृद्धा तथा गाईबस्तु ओहोरदोहोर गर्नसमेत सहज भएको स्थानीय बताउँछन्।
सदीक्षाको कामको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ। प्रचण्डसँग चुनावी प्रतिस्पर्धा गरेका एमाले नेता लिलामणि गौतमले पनि उनको कामको सम्मान गर्दै जिल्लाको राजनीतिकर्मीका रूपमा आफूले आवश्यक पहल र सहयोग गर्न नसकेकोमा क्षमायाचना गरेका छन्।
जनप्रतिनिधिलाई प्रश्न गरेर चर्चामा आएकी सदीक्षा अन्ततः आश्वासनको प्रतीक्षा नगरी आफैं काममा उत्रिइन्। उनले सामाजिक सञ्जालबाट उठाएको प्रश्नको जवाफ भाषण वा आश्वासनबाट होइन, गाउँमा बनेको काठे पुलबाट दिएकी छन्।
प्रकाशित मिति : November 10, 2026 at 8:22 pm










