१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

धादिङमा पहिरोले पुरिएको बस भेटियो, १४ शव निकालियो

१२ असोज, काठमाडौँ । त्रिभुवन राजपथको झ्याप्ले खोलामा शनिबार बिहानको पहिरोमा पुरिएको बस भेटिएको छ । प्रहरीले पहिरो पन्छाउने क्रममा बस भेटेको र त्यसबाट १४ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

काठमाडौ र धादिङको सीमानामा पर्ने झ्याप्ले खोलामा बिहान ४ बजे बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको विङ्गर भ्यान पहिरोमा पुरिएको थियो ।

सशस्त्र प्रहरीको १८ नम्बर गणबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको ३५ जनाको टोलीले खोजतलास गर्ने क्रममा राति ८ बजे १४ जनाको शव भेटाएको हो ।  दिउँसभर पनि वर्षा भएर लेदो बगिरहेपछि पहिरो पन्छाउन समस्या भएको थियो । पानी र पहिरो दुबै रहेपछि साँझ परेपछि तीब्र गतिमा पहिरो पन्छाउदै खोजतलास शुरू भएको थियो ।

डिएसपी थापाले लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट एक बालक, पाँच महिला र आठ जना पुरूषको शव निकालेको बताउनुभयो । पहिरोमा अरू पनि पुरिएको हुन सक्ने आशंकामा खोजी जारी राखिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार २०:४८