१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

आर्थिक समृद्धिका लागि वर्तमान सरकार गठन भएको हो: डा. शेखर कोइराला

१२ असोज, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले विजयादशमीको ‘शुभकामना आदानप्रदान तथा कांग्रेसको सय दिने अभियान’को शुभारम्भ गर्दै नेता कोइरालाले आर्थिक समृद्धि, सुशासन र राजनीतिक स्थायित्वका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग मिलेर सरकार गठन गरिएको बताउनुभयो ।

“मुलुकमा सुशासन कायम गर्न, आर्थिक समृद्धि प्राप्तिका लागि हामीले सहकार्य गरेका हौँ । सबै दलसँगको छलफल र सहमतिमा आवश्यकताका आधारमा संविधान संशोधन हुनेछ”, नेता डा कोइरालाले भन्नुभयो । उहाँले समावेशी र समानुपातिक सिद्धान्तलाई प्रभावकारी कार्यान्वयन गर्न संविधान संशोधन आवश्यक रहेको औँल्याउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले संविधान संशोधन गर्दा सहमतिका आधारमा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले पार्टीभित्र भागबण्डा हुँदा पार्टी झन् कमजोर बन्दै गएकाले आपसी सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीका केन्द्रीय सदस्य वडाबाट लडेर आउने प्रावधान बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीलाई एकताबद्ध बनाएर लगेमात्र आगामी निर्वाचन जितिने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेशका अर्थमन्त्री डा टकराज गुरुङले निरन्तर सरकार परिवर्तन हुँदा मुलुकले आर्थिक प्रगति हासिल गर्न नसक्ने धारणा राख्नुभयो ।

सम्पर्क समितिका अध्यक्ष प्रदीपराज अधिकारी, कांग्रेस लमजुङका पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, प्रदेशसभा सदस्य टीका बस्याल, कांग्रेस लमजुङ प्रदेशका सभापति रघुनाथ गुरुङ, सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष किशोर पौडेल, नेवि सङ्घ सम्पर्क समितिका सभापति डिबी पराजुलीलगायतले लमजुङ कांग्रेसको सङ्गठनलाई बलियो बनाउन सकेमात्र आगामी निर्वाचनमा जित हासिल गर्न सकिने धारणा राख्नुभएको थियो ।

सोही अवसरमा नेपाल इञ्जिनियर एसोसियसनको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित इञ्जिनियर सुवासचन्द्र बराल र सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसियसन (सिडेन)का अध्यक्ष इञ्जिनियर लक्ष्मण केसीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार १५:३३