१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

त्रिशुलीको बाढीले तीन टिपर र दुई एक्साभेटर बगायो (भिडियो)

१२ असोज, काठमाडाैँ । त्रिशूली नदीमा बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ।

अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीन टिपर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिप्पर बगाएको आयोजनाका कर्मचारी सङ्गम मग्रातीले जानकारी दिनुभयो। ‘साँझतिर एउटा एक्साभेटर र एउटा टिपर बगाएको थियो’, उहाँले भन्नुभयो, ‘सोही ठाउँमा रहेका थप एउटा एक्साभेटर र दुई टिपर पनि राति करिब १० बजे त्रिशूली नदीमा आएको बाढीले बगाएको छ।’

नदीमा भीषण बाढी आएपछि दिउँसोदेखि नै आयोजनाको तीनवटा टिप्पर, दईवटा एक्साभेटर नदीको बीचमा फसेको थियो। नदीको मध्यभागमा फसेको मेसिन निकाल्ने प्रयास गरिएको भए पनि नसकिएको उनले बताए। ब्लू इनर्जी कम्पनीले बुट्टारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोही आयोजना निर्माणमा प्रयोग भएका टिपर र एक्साभेटर नदीले बगाएको छ।

प्रकाशित मिति : September 28, 2024 at 7:53 am