११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

कुलेखानी भरियो, बागमती किनारको बस्ती खाली गर्न अपिल

११ असोज, काठमाडौँ । मकवानपुरमा रहेको कुलेखानी जलविधुत केन्द्रको कुलेखानी बाँध भरिएको छ । नेपाल बिधुत प्राधिकरणले बाँध भरिएकाले अब ढोका खोल्नुपर्ने अवस्था आएको जनाएको छ । प्राधिकरणले बाँध केही घण्टामा पुरै भरिने र ढोका खोल्नुपर्ने भएकाले बागमतीमा बाढी आउने भएकाले सतर्क रहन अनुरोध गरिएको छ ।

कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउने भएकाले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्नुहुन अनुरोध गरिएको छ ।

dainiki.com

सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत तदनरुप सुरक्षित स्थानको पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले सञ्चारमाध्यमलाई समेत प्राथमिकताका साथ समाचार प्रशारण गरिदिन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १८:०४