११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

काम गर्न नसक्नेहरूलाई पदमा बसिरहने छुट छैन: पर्यटनमन्त्री पाण्डे

११ असोज, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरूलाई पदमा बसिरहने छुट नभएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रम पर्यटन दिवसको अवसरमा उहाँले आफूले पनि काम गर्न नसके एक निमेष पनि मन्त्री पदमा नबस्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोही पनि निकायको प्रमुखहरूले काम गर्न नसके निकायमा बस्ने अधिकार छैन । जो जो, जुनजुन ठाउँमा छन् र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले मैले काम गर्न सक्दिनँ भने मलाई यो पदमा बस्ने छुट छैन। त्यसका लागि कानून हेरिरहनु पर्दैन र कुनै व्यवस्था पनि हेर्नु पर्दैन, जनता छ, जनता सार्वभौम सत्ता सम्पन्न छ। सार्वभौम सत्ता जनताले भन्यो भने म यो पदबाट एक निमेष पनि नरहेर निस्किने त्यो नैतिक तागत मैले देखाउनु पर्छ। त्यसैले म सबै निकायका प्रमुखहरूलाई पनि आग्रह गर्न चाहन्छु।’

उहाँले विविधतापूर्ण संस्कृति र प्रकृतिलाई व्यापक बनाउने दिशामा अघि बढिरहेको र जिडिपीमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहेको समेत बताउनुभयो ।

मन्त्री पाण्डेले निजी क्षेत्र अघि नलागेसम्म मन्त्रालयले कुनै काम गर्न नसक्ने जिकिर गर्दै हिउँदे अधिवेशन हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको इतिहासमा कानून बनाउने अधिवेशन हुने र हवाई नीति,संस्कृति, पर्यटन नीति बदलिने बताउनुभयो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १४:१३