८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

वार्षिक उत्सवको अवसरमा पठाओले थप्यो यी तीन नयाँ सेवा

८ असोज, काठमाडौँ । पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सेवालाई अझ विविधिकरण गर्दै तीन सेवा थप गरेको छ ।

ग्राहकलाई एउटै एपबाट धेरै सुविधा दिने उद्देश्यले सेवा थप गरिएको कम्पनीका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातले जानकारी दिनुभयो । उक्त थप गरिएको सेवा हाललाई काठमाडौंमा मात्र उपलब्ध हुनेछन्।

कम्पनीले राइड सेयरिङ, फुड डेलिभरी र पार्सल डेलिभरीलाई डिजिटलाइज गरेसकेकाले अब ‘पठाओ किराना’ ‘पठाओ खाजा घर’ र ‘पठाओ गेम्स’ सेवा सुरुआत गर्न लागेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पठाओ किरानाअन्तर्गत स्थानीय किराना पसलका सामान पठाओ एपबाटै सहजै खरिद गर्न सकिनेछन् भने पठाओ एपको बजार सेक्सनभित्र किरानाको सेवा पनि उपलब्ध हुनेछन् ।

बिक्रेताहरू भने पठाओ किराना र पठाओ खाजा घरमा आबद्ध हुन अनिवार्य प्यान दर्ता गरेको हुनुपर्नेछ । बिक्रेताका लागि पठाओमा आबद्ध भएको पहिलो ६ महिनासम्म सेवा निःशुल्क उपलब्ध हुनेछ।

कम्पनीले सहभागीहरूलाई दर्ता गरी इ–स्टोर बनाएर ड्यासबोर्ड उपलब्ध गराउनेछ। उक्त ड्यासबोर्डमार्फत बिक्रेताले अर्डर, रेकर्ड, बिक्रीको तथ्यांक हेर्न सक्नेछन् । साथै सामग्रीको सूची र पसल खुल्ने समय व्यवस्थापनसम्बन्धी काम गर्न सक्नेछन् भने ड्यासबोर्ड कम्पनीको रेष्टो एपबाट पनि हेर्न र प्रयोग गर्न मिल्ने गरी बनाइएको छ।

त्यसैगरी, वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहकको मनोरञ्जनका लागि गेम्स सेवा पनि उपलब्ध गराएको छ। उक्त गेम्स खेल्ने ग्राहकले प्वाइन्ट्सका आधारमा गिफ्ट र पठाओका सेवामा छुट पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलवार १७:३०