१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

देशभर क्यान्सरसम्बन्धी जनचेतना फैलाउन जरुरी छ: ऊर्जामन्त्री खड्का

१ असोज, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशभर क्यान्सरसम्बन्धी जनचेतना फैलाउन जरुरी रहेको बताउनुभएको छ ।

नेपालमा क्यान्सरका क्षेत्रमा क्रियाशील अर्बुद रोग निवारण संस्थाको ४२औँ वार्षिकोत्सवको सोमबार यहाँ उद्घाटन गर्दै मन्त्री खड्काले पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएको भन्दै क्यान्सरलाई कम गर्न देशभर यससम्बन्धी जनचेतना फैलाउन जरुरी रहेको उल्लेख गर्नुभयो । क्यान्सरसम्बन्धी जनचेतना फैलाउने काममा अर्बुद रोग निवारण संस्थाले महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।

मन्त्री खड्काले देशभरि क्यान्सरका बिरामीको उपचारको थलो बनेको भक्तपुर क्यान्सर अस्पतालको स्थापना र सञ्चालन महत्वपूर्ण कार्य रहेको भन्दै प्रशंसासमेत गर्नुभयो ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्यान्सरका क्षेत्रमा संस्थाले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि संस्थासँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष महेश श्रेष्ठले क्यान्सर जस्तो प्राणघातक रोगको उपचार सेवा सुलभ बनाउन सरकारसँग माग गर्नुभयो । उहाँले अर्बुद रोग संस्था क्यान्सर रोगविरुद्ध सचेतना फैलाउने भन्दै उपचारको क्षेत्रमा ४२ वर्षदेखि निरन्तर लागिरहेको उहाँले जानकारी दिनुभयो ।

संस्थाका महासचिव दीपेन्द्र वान्तवाले हाल देशका ४८ जिल्ला शाखामा रहेका १५ हजारभन्दा बढी स्वयंसेवकले क्यान्सरबारे सचेतना अभियानमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । आगामी दिनमा देशभर स्वयंसेवकमार्फत जनचेतना अभियान सञ्चालन गर्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा क्यान्सरसम्बन्धी उपचारमा संलग्न नौ जना चिकित्सकलाई सम्मान गरिएको थियो । साथै नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा प्रकाशित स्मारिका मन्त्री खड्काले विमोचन गर्नुभएको थियो ।

प्रकाशित मिति : September 17, 2024 at 9:23 am