३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

नेपालको ऊर्जामा ४६ खर्ब लगानी आवश्यक छ: इप्पान अध्यक्ष कार्की

२८ भदौ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा ऊर्जा पूर्वाधारको विकासका लागि सरकारले नीतिगत परिवर्तन गर्नु अत्यावश्यक रहेको बताउनुभएको छ ।

काठमाडौंमा जारी नेपाल इन्फ्रास्ट्रक्चर समिटको दोस्रो दिन ऊर्जा र जलस्रोत विषयको छलफलमा अध्यक्ष कार्कीले २८ हजार ५०० मेगावाट उत्पादन गर्दा ४६ खर्ब रुपैयाँ लगानी चाहिने र यसै अनुसार अन्य व्यापार व्यावसायमा पनि धेरै ठूलो अवसर आउने बताउनुभयो ।

‘२८ हजार मेगावाट उत्पादनको लागि ४६ खर्ब रुपैयाँ लगानी आवश्यक छ । यसमा बैंक, इन्स्योरेन्स र रिइन्स्योरेन्सका साथै सप्लायर्स, डिजाइनर तथा कन्सल्ट्यान्ट लगायतलाई पनि धेरै ठुलो अवसर छ,’ उहाँले भन्नुभयो । अहिले नेपालको धेरै ठाउँमा विद्युत् आयोजना सम्पन्न भए पनि प्रसारणलाइन भने नभएका कारण आयोजनाको विद्युत् खेर गइरहेको कार्कीले बताउनुभयो । त्यसका लागि सरकारले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणको जिम्मा दिनुपर्ने उहाँको भनाइ छ ।

नेपाली निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिए भारतीय र बंगलादेशी कम्पनीसँग सहज रूपमा डिल गरेर विद्युत् बेच्न सक्ने भन्दै त्यसका लागि सरकारले नीति बनाइदिनुपर्ने पनि अध्यक्ष कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार १४:०७