१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

माओवादीलाई २०६४ सालकै अवस्थामा ल्याउने प्रचण्डको घोषणा

१६ भदौ, बाँके । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई २०६४ सालकै अवस्थामा ल्याउने अभियान सुरु गरेको बताउनुभएको छ । माओवादी केन्द्र बाँकेद्वारा आज यहाँ आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले आफ्नो पार्टी नेतृत्वको सरकारले जनहितमा गरेका कामले जनतामा माओवादी केन्द्रप्रति विश्वास बढाउने काम गरेको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले २०६४ सालमा माओवादीलाई नेपाली जनताले ठूलो विश्वास गरेर समर्थन गरेको तर पार्टीभित्र देखिएका विभिन्न विकृति र जनताबाट टाढिने प्रवृत्तिले गर्दा जनसमर्थन घटेको बताउनुभयो । उहाँले आफ्नो नेतृत्वको सरकारले छोटो समयमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्याय तथा विकासका लागि धेरै उदाहरणीय काम गरेकाले पार्टीप्रति जनतामा फेरी विश्वास र समर्थन बढ्दै गएको बताउनुभयो ।

अध्यक्ष दाहालले सुशासनसँगै सामाजिक न्यायको क्षेत्रमा मिटरब्याजको समस्या समाधान गरिएको, हजारौँ नागरिकताविहीनले नागरिकता पाउने व्यवस्था मिलाइएको र देशबाहिर तथा देशभित्र रहेका लाखौँ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेर नयाँ आशा जागृत गरिएको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले बाँके मधेशी, मुस्लिम र थारु बाहुल्य जिल्ला भएकाले पार्टीको कार्यकारी भूमिकामा मधेशी, मुस्लिम र थारु समुदायका अगुवालाई स्थापित गर्न जिल्ला नेतृत्व तथा केन्द्रबाट खटिएका नेतालाई निर्देशन दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, नेतृ पूर्णाकुमारी सुवेदी र पम्फा भुषाल, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलबहादुर केसी, पार्टीका नेता बलदेव शर्मा, महेश्वर गहतराजलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार ०८:४८