समुदाय र सरकार मिलेर काम गर्नुपर्छ: महामन्त्री थापा
१५ भदौ, ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुदायले गर्ने समुदायले गर्ने सामाजिक काममा सरकारको साथ र सहयोग आवश्यक पर्र्ने बताउनुभएको छ । गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रद्वारा १७औँ पुस्तकालय दिवस एवम् १५९औँ मोती जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सामाजिक काममा युवापुस्तालाई एकैसाथ लिएर हिड्नुपर्छ भन्नुभयो ।
“पुस्तकालय बनाउन गर्ने जस्तो सामाजिक काम सहज हैन, यहाँको अग्रजहरुले वातावरण बनाएर पुस्तकालय स्थापना गरेको धन्यवाद भन्न चाहन्छु, अहिलेको समयमा सामुदायिक अध्ययन केन्द्रको आवश्यकता अझ धेरै छ, पुस्तकालयले सामुदायिक चेतना जनाउनुपर्ने र यसलाई नयाँ पुस्तालाई जोड्नुपर्ने आवश्यकता छ । सूचनामाथि पहुँच जमाउने भन्दा प्राप्त गरेको सूचनाको विवेचना गर्ने क्षमता हुनुपर्छ ।” उहाँले भन्नुभयो । उहाँले विकासको पछिल्लो चरणमा रहेका देशहरूले विकासमा समुदायलाई जोड्न नसकेसम्म विकास नहुने जनाउँदै यसका लागि पुस्तकालय महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले भन्नुभयो ,“पुस्तकालय समुदायको एउटा अङ्ग हो, यसले अरुलाई पनि प्रेरित गर्छ । सामाजिक सञ्जाल र सूचनाहरुमा समय बिताउने भन्दा पुस्तकालयमा समय बिताउने कार्यलाई बढी जोड दिनुपर्छ ।”
सो अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन गोदावरी नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनका लागि सामुदायिक पुस्तकालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । पुस्तकालयमार्फत साहित्यिक क्षेत्रमा, सामामुदायिक क्षेत्रमा गौरवपूर्ण काम गरेको जनाउँदै उहाँले रोजगार र तालिमका क्षेत्रमा पुस्तकालयमार्फत उल्लेखनीय काम हुने विश्वास व्यक्त गर्नुभयो ।
स्रोत केन्द्रका अध्यक्ष वरिष्ठकुमार अधिकारीले पुस्तकालयले मानिसको व्यक्तित्व विकासमा योगदान पुर्याउने जनाउँदै पुस्तकालय सिङ्गो गाउँको सम्पत्ति भएको बताउनुभयो ।
प्रकाशित मिति : August 31, 2024 at 4:18 pm









