१० आश्विन २०८१, बिहीबार | Thu Sep 26 2024

टान निर्वाचनः पाण्डे समूहले प्यानलसहित उम्मेदवारी दर्ता

१३ भदौ, काठमाडौँ । पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका उम्मेदवार सागर पाण्डेले प्यानलसहित उम्मेदवारी दर्ता गर्नुभएको छ ।

टानको यही भदौ १७ मा हुनलागेको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि आज उहाँले पत्रकार सम्मेलन गरी प्यानलसहित आफ्नो समूहले उम्मेदवारी दर्ता गरेको जानकारी दिनुभएको हो ।

पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा, द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेद्वारी दिनुभएको छ । यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी दिनुभएको हो ।

साथै कार्यसमिति सदस्यका लागि माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी पाण्डेले टान अक्षयकोष स्थापना गर्न, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्न आफूले उम्मेदवारी दिएको जानकारी दिनुभयो । उहाँले ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाइने, टिम्स व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिने, नियन्त्रित पदमार्गको अनुमतिमा सहजीकरण गर्ने, करसम्बन्धी समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

यस्तै, पर्यटक सवारी साधान खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरी कार्यान्वयन गराइने, वैकल्पिक पदमार्गको  विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने, पदमार्गको प्रचारप्रसारलाई प्राथमिकता दिने घोषणा गर्नुभएको छ ।

पाण्डेले जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकका साथ उठान, पर्यटन ऐनलाई समयसापेक्ष बनाउने, ‘एक्सपेरियन्सल टुरिजम’को विकास, अन्तर्राष्ट्रियस्तरका विभिन्न तालिमसम्बन्धी पाठ्यक्रम सञ्चालन, पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्यमा जोड दिइने बताउनुभयो ।

यस्तै, पर्यटनसँग सम्बन्धित अन्य सङ्घसंस्थासँग सहकार्य, पर्यटन विकासका लागि नेपाल सरकारका निकायसँग सहकार्य, कानुनी र वित्तीय परामर्श केन्द्र स्थापना, नेपाल पर्यटन बोर्डमा पर्यटन सङ्घसंस्थाको प्रतिनिधित्व हुने व्यवस्थाका लागि पहदल, टानको विधान समयसापेक्ष संशोधन, टान नेतृत्वका हाल सञ्चालनमा रहेका प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिने उहाँले योजना सुनाउनुभयो ।

हाल देशभर दुई हजार चार सयभन्दा बढी  ट्रेकिङ कम्पनी दर्ता भई सञ्चालनमा छन् । कम्पनी दर्ता गरी टान निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या भने एक हजार चार सय ३८ छ । यी मतदाताले सन् २०२४ देखि २०२६ सम्मका लागि टानको नयाँ कार्यसमिति चयन गर्नेछन् ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार २२:२७