१४ पुष २०८१, आईतवार | Sun Dec 29 2024

पर्सामा चोरी तस्करी गर्न लागिएको दुई हजार दुई ९१ क्युफिट काठ बरामद

४ भदौ, पर्सा । डिभिजन वन कार्यालय पर्साले अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्युफिट काठ बरामद गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० देखि २०८०/८१ सम्मको दुई वर्षको अवधिमा सो परिमाणको काठ बरामद गरेको हो ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिलकुमार कर्णले दुई आवमा अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्युफिट काठ बरामद गरेको जानकारी दिनुभयो ।

‘‘दुई आवमा वनपैदावार तथा वन्यजन्तु चोरी सिकारी गर्ने कार्यमा संलग्न भएका दुई सय २६ जनालाई पक्राउ गरेर मुद्दा अगाडि बढाएका छौं,’’ उहाँले भन्नुभयो । कार्यालयले अवैध ढङ्गले दाउरा चोरी तस्करी गर्नेबाट पाँच सय क्यूफिट बराबरको दाउरा पनि बरामद गरेको छ ।

डिभिजन वन कार्यालय पर्साले काठ दाउरा तस्करी गर्नेबाट १५ थान मोटरसाइकल पनि बरामद छ । कार्यालयले एक सय ४३ थान साइकल, ६ थान ट्याक्टर, ६ थान टायरगाडा, ४२ थान बन्चरो, २० थान काठ काट्ने आरा पनि बरामद गरेको छ ।

डिभिजन वन कार्यालयले आव २०७९/८० मा एक सय २६ वटा वन मुद्दा दायर गरेको थियो । जसमा १२० थान वनपैदावारसँग सम्बन्धित रहेका थिए । त्यस्तै ६ वटा मुद्दा भने वन्युजन्तु चोरी सिकारीसँग सम्बन्धित रहेको थियो ।

आव २०८०/८१ मा भने कार्यालयले ४२ वटा वन पैदावरसँग सम्बन्धित मुद्दा दायर रहेको छ । कार्यालय प्रमुख कर्णले चालु आवमा वनपैदावारसँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा राखेर फस्र्यौट गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘वनपैदावरसँग सम्बन्धित मुद्दाको आवश्यक कागजात सङ्कलन गर्ने प्रक्रिया अघि बढेको छ । त्यसैले अब वन पैदावारसँग सम्बन्धित मुद्दा मुद्दा फस्र्यौटले गति लिनेछ ।’’

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार ०८:०५