इन्द्रेणी मसरुम फर्मले आइपीओ निष्कासन गर्ने
२४ साउन, काठमाडाैँ । इन्द्रेणी मसरुम फर्मले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । मकवानपुरकाे थाहा नगरपालिका–९ चित्लाङमा रहेको सो फर्मले आईपीओ ल्याउन लागेको हो ।
हाल कम्पनीले १४ करोड लगानीमा चित्लाङको १९ रोपनी जग्गामा ११ ओटा अत्याधुनिक उत्पादन कक्ष निर्माण गरी प्रत्येक दिन ६०० केजी गोब्रे च्याउ उत्पादन गर्दै आइरहेको छ ।
निकट भविष्यमा यस कम्पनीले सेयर निष्काशन गरी सो बाट प्राप्त हुने रकमबाट मकवानपुर जिल्लाको हेटौंडाबाट पनि व्यावसायिक रुपमा विभिन्न प्रजातिको च्याउ उत्पादन सुरु गर्ने कम्पनीले जनाएकाे छ ।
त्यस्तै कम्पनीले कोल्ड स्टोरको निर्माण गर्ने, प्रयोगशाला निर्माण गर्ने, च्याउ उत्पादन निमित्त मल बिउ र सामाग्री बिक्री केन्द्र खोली बिक्री गर्ने, च्याउको सुकुटी, गुन्द्रुक, अचार तथा सुप उत्पादन गर्ने लक्ष्य समेत लिएको छ ।
चित्लाङ र हेटौडाबाट उत्पादन शुरू भए पश्चात् दैनिक २५०० केजी च्याउ उत्पादन गर्ने योजना रहेको र यसले उत्पादनको लागतमा समेत कमी हुन आउने कम्पनीको भनाइ छ ।
कृषि क्षेत्रमा क्रान्ति तथा देशको समग्र कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्याउने उद्देश्यले सफल व्यावसायिक व्यक्तिहरूको लगानीमा नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिबाट व्यावसायिक रुपमा गोब्रे च्याऊ उत्पादन गर्न विसं २०७१ मा इन्द्रेणी मसरुम फर्म पब्लिक लिमिटेडको नाममा कम्पनी स्थापना भएको हो ।
प्रकाशित मिति : 17:21









