९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

टान नेतृत्व सर्वसम्मत गराउन जुटे पर्यटनका अगुवा, अध्यक्षमा राजेन्द्र सापकोटा !

२१ साउन, काठमाडौँ । पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा नेतृत्व सर्वसम्मत गराउन पर्यटन क्षेत्रका अगुवाहरू अग्रसर भएका छन । आगामी भदौँ १७ गते हुने वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डेबीच प्रतिस्पर्धा हुने करिब निश्चित भए पनि अगुवा व्यवसायीहरूले भने सर्वसम्मतिका लागि प्रयास सुरू गरेका छन ।

साधारणसभाको एक महिना अघिदेखि नै प्रत्यासीहरू उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार र भेटघाटमा सक्रिय भएका छन् । टानका महासचिव विनोद सापकोटाले नेतृत्व सर्वसम्मत चयनका लागि छलफल भइरहेको भन्दै सहमति नभए निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन हुने बताउनुभयो । उहाँकानुसार टानमा करिब दुई हजार पदयात्री व्यवसायी आवद्ध छन् ।

अध्यक्षका अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटा विगत २० वर्षदेखि पर्यटनमा सक्रिय हुनुहुन्छ । नेपाल पर्यटन बोर्डको पूर्वसञ्चालक समिति सदस्य सापकोटा आउटडोर हिमालयन ट्रेक्सका प्रबन्ध निर्देशक हुनुहुन्छ । पदयात्रा व्यवसायको संरक्षण र साहसिक पर्यटन प्रवर्दनमा आफ्नो भूमिका केन्द्रीत हुने उहाँले बताउनुभयो । “पदयात्रा पर्यटन व्यवसाय समस्याग्रस्त छ, स्थानीय निकायले विकास निर्माणको नाममा पदमार्गको अस्तित्व जोखिममा परेको छ । त्यसैले पदमार्ग संरक्षण मेरो पहिलो प्राथमिकता हुन्छ ।”

उहाँले स्थानीय तहसँग समन्वय गरेर पदमार्गको दिगो विकासका लागि पहल गर्ने, रोजगारी सिर्जना, मजदुरका समस्या सम्बोधनका लागि ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पाठ्यक्रम मै पदयात्रा पर्यटनलाई समेटेर साहसिक पर्यटनको सम्भाव्य क्षेत्रमा सचेतना अभिवृद्धि गर्न पहल गर्ने सापकोटाको भनाइ छ ।

सापकोटाका लागि ठमेल पर्यटन परिषद्का पूर्व अध्यक्ष समेत रहेक नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा रामशरण थपलिया, टानका पूर्व अध्यक्ष चन्द्र रिजाल, नाट्टाका पूर्व अध्यक्ष सिएन पाण्डे लगायतले दिनदिनै छलफल र भेटघाटलाई तीब्रता दिएका छन । व्यवसायीको हकहितमा काम गर्ने संस्था राजनीतिक रूपमा विभाजित हुन नहुने भन्दै अगुवाहरूले सापकोटाको नेतृत्वमा यो पटक सर्वसम्मत नेतृत्व चयन हुने बताउँदै आउनुभएको छ ।

यसअघिको टानकै निर्वाचनका क्रममा नेपाली कांग्रेस र नेकपा एमाले निकटका व्यवसायीहरूको बीचमा यो नेतृत्वमा नेकपा एमाले निकटको व्यवसायीलाई सहयोग गर्ने लिखित सहमति भएका कारण पनि हुँदा सापकोटा नै सर्वसम्मत हुने र निर्वाचन नै हुने अवस्थामा अध्याधिक मतले विजयी हुने सम्भावना रहेको छ ।

अध्यक्ष पदका अर्का प्रत्यासी सागर पाण्डेले पनि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । टानको पूर्वमहासचिवसमेत रहनुभएका पाण्डेले संस्थागत सुधार, पर्यटन मजदुरको कल्याणकारी कोष स्थापना, गन्तव्य प्रवर्द्धनलगायत विषयलाई प्राथमिकता दिने उहाँको योजना छ । उहाँ यसअघि चन्द्र रिजालसँग टानको अध्यक्षमा पराजित भैसक्नुभएको उम्मेदवार हुनुहुन्छ भने उहाँ महासचिव भएको टानको कार्यसमितिले संस्थाको दुरूपयोग गरेको र भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको थियो ।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ०९:१२