विराट गोल्डकप फुटबल प्रतियोगिता चैत १७ देखि हुने
४ चैत, विराटनगर । विराटनगरमा दिवा एवं रात्रि विराट गोल्डकप फुटबल प्रतियोगिता चैत १७ गते देखि हुने भएको छ ।
गोल्ड आयोजक समिति–२०७४ का अध्यक्ष नवीन रिजालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगरमा पहिलोपल्ट पर्याप्त प्रकाशको व्यवस्था गरी दिवा एवं रात्रि हुने उक्त प्रतियोगिता यही चैत १७ गतेदेखि २६ गतेसम्म स्थानीय शहीद रंगशालामा सञ्चालन हुने जानकारी दिए ।
प्रतियोगीतामा नेपाल, भारत, भुटान र बंगलादेशका गरी जम्मा १० टिमको सहभागिता हुने जनाइएको छ । नेपालका मनाङ मस्र्याङ्दी, सशस्त्र प्रहरी, थ्रीस्टार, नेपाल पुलिस, नेपाल आर्मी, रमपम झापा–११ र रिजालको मोरङ –११, भुटानको थिम्पु फुटबल क्लब, बंगलादेशको बंगलादेश स्पोर्टिङ क्लब र भारतको सिक्किम युनाइटेड वा मोहमडन स्पोर्टिङ क्लबमध्ये एकको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु १२ लाख ७१ हजार र दोस्रो हुनेलाई रु पाँच लाख ५१ हजार नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ । उक्त पुरस्कार प्रदेश नं १ को सर्वा्धिक राशिको रहेको आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा टिकट बिक्री र प्रायोजकद्वारा जम्मा रु एक करोड तीन लाख आम्दानी हुनेछ भने पुरस्कार, टिमलगायतका अन्य गरी रु एक करोड खर्च हुने अनुमान गरिएको छ ।
प्रकाशित मिति : March 18, 2018 at 7:08 pm









