९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

पहुँच मार्ग बनेपछि शिवपुरीको छहरे झरनामा एकै दिन २५ सय बढी पुगे

२० साउन, नुवाकोट । पर्यटकीय पहुँच मार्ग निर्माण भएपछि शनिबार शिवपुरी गाउँपालिका वडा नम्बर ८ को छहरे (लौके) झरनामामा एकै दिन दुई हजार पाँच सय भन्दा बढी पर्यटक पुगेका छन । काठमाडौँबाट नजिकको दूरीमा रहेको शिवपुरीको छहरे झरनामा एकै दिन यतिधेरै पर्यटक पुगेको यो पहिलो पटक हो । यसअघि पाँच सयदेखि एकहजार पाँच सयसम्म यो झरनामा पुग्ने गरेका थिए ।

गाउँपालिकाले सिँडीसहितको पदमार्ग र सहज रूपमा सवारी हिड्ने बाटो निर्माण गरिदिएपछि अन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनेको छ । छहरे टोखा सडकको बीचबाट सहजै झरनामा पुग्न सकिने भएपछि आन्तरिक पर्यटकको रोजाइमा झरना परेको छ ।

शिवपुरी गाउँपालिको वडा नं ८ र ककनी गाउँपालिकाको वडा नं ५ को सिमानामा पर्ने झरनाका शनिबार बाहेक पनि सयौँ पर्यटक आउने गरेको शिवपुरी वडा नम्बर ८ का अध्यक्ष केशव रिजालले जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले प्रवर्द्धन गर्न थालेपछि झरनामा पर्यटकको संख्या ह्वात्तै बढेको जानकारी दिनुयभो ।

रिजालले काठमाडौंबाट माथिल्लो ढोडिनीसमको सडकमार्गको दूरी २९ किलोमिटर रहेको बताउनुभयो । टोखा छहरे सडकको घट्टेखोलाबाट सानीपिपल हुँदै तीन किलोमिटर सडकबाट ढोडिनी पुग्न सकिन्छ। अहिले ढोलिनीसम्म चारपाङ्ग्रे सवारीसाधन पुग्ने बाटो बनिसकेको छ। ढोडिनीबाट झरनासम्म आठ सय मिटर पदमार्ग निर्माण गरिएको छ ।

अध्यक्ष रिजालले आगामी दिनमा ठूलो छहरे झरनामा ककनी जोड्ने झोलुङ्गे पुल निर्माण गर्ने, सो स्थानमा सेल्फी खिच्न मिल्ने ‘स्ट्याण्ड’ बनाउने लगायतको काम पनि गरिने बताउनुभयो । उहाँले पर्यटकको सहजका लागि स्थानीयलाई होटल रेष्टुराँ खोल्न प्रोत्साहन गरिने बताउनुयभो ।

नुवाकोटको दक्षिण पूर्वी भागमा अवस्थित शिवपुरी गाउँपालिका साविकका तलाखु, छाप, लिखु, सिक्रे महाकाली, समुन्द्रादेवी, सुनखानी र थानापती गाविस समावेश गरी बनेको हो। समुद्री सतहको छ सय २९ मिटरदेखि दुई हजार पाँच सय २० मिटरको उचाइमा रहेको गाउँपालिकाको केन्द्र सेराबगर जिल्ला सदरमुकाम विदुरबाट ३० किलोमिटर र संघीय राजधानी काठमाडौंबाट ४० किलोमिटर सडकको दूरीमा रहेको छ। विदुर र काठमाडौंको करिब मध्यदूरीमा पर्ने भएकाले पनि छहरे  झरना पर्यटकीय प्रचुर सम्भावनाको बोकेको स्थान बन्दैछ । तस्बिरः प्रकाश डंगोल

प्रकाशित मिति : २० श्रावण २०८१, आईतवार ०८:०३