९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

पर्यटन व्यवसायी संगठनमा महासचिवको नेतृत्वमा बिद्रोह, एमालेमै फर्किए व्यवसायी

१६ साउन, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी निकटको पर्यटन व्यवसायी संगठनमा महासचिवको नेतृत्वमा बिद्रोह भएको छ । पर्यटन व्यवसायी संगठनको महासचिव रहेका बद्री तिमल्सिनाको नेतृत्वमा सात जना पर्यटन व्यवसायी मंगलबार एमालेमै फर्किएका छन ।

पार्टी विभाजनसँगै समाजवादीमा लागेका उनीहरू मंगलबार नेकपा एमालेको उद्योग व्यवसायी विशेष पर्यटन इलाका कमिटीको बैठकमा आमन्त्रित रूपमा सहभागी नै भए । पदयात्रा व्यवसायीहरूको छाता संस्था टानको निर्वाचनको समुखमा व्यवसायीहरू पुरानै घर फर्किने तयारीमा लागेका हुन ।

मंगलबारनै दुई दर्जन भन्दा बढी व्यवसायी एमालेमा फर्किएका छन भने सात जना बैठकमै सहभागी भएका छन । केही दिनमै एकदुई बाहेक सबै नेताहरू एमाले निकटको राष्ट्रिय पर्यटन व्यवयासी संगठनमा फर्किने उद्योग व्यवसायी विशेष पर्यटन इलाका कमिटी उपसचिव गोपाल श्रेष्ठले बताए ।

मंगलबारको बैठकमा पर्यटन व्यवसायी संगठनका महासचिव बद्री तिमल्सिना, टानका कोषाध्यक्ष पुरूषोत्तम तिमल्सिना, सदस्य नमिनाथ देवकोटा, लाक्पा दोर्जे शेर्पा, मनहरी दाहाल, सुनिल सिलवाल, कुमार नेपाली सहभागी भएका थिए । उनीहरूले सामूहिक तस्बिर समेत कैद गरेर सार्वजनिक गरेका छन ।

उद्योग व्यवसायी विशेष पर्यटन इलाका कमिटीको बैठकमा सहभागी नेताहरू ।

नेकपा एमालेको उद्योग व्यवासयी महासंघका उपाध्यक्ष सिएन पाण्डेको उपस्थितिमा भएको बैठकमा तिमल्सिनाले पर्यटन व्यवसायी संगठनका करिब ९५ प्रतिशत नेता र कार्यर्ता एमालेमै फर्किने तयारीमा रहेको जानकारी दिएका थिए । एमाले निकटका व्यवसायीले टानको अध्यक्षमा राजेन्द्र सापकोटालाई उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेका छन ।

टानको उपाध्यक्ष समेत रहेका प्रदीप पण्डितसहित २५ भन्दा बढी व्यवसायीले मंगलबार नै पार्टी प्रवेश गर्ने तयारी गरिएको भए पनि एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीको सक्रिएताले पण्डित लगायका केही नेता भने बैठकमा जानबाट रोकिएका छन । झाँक्रीले सामाजिक सञ्जाल मार्फत पण्डितसँगको तस्बिर सार्वजनिक गर्दै उनी एमाले नफर्किएको दाबीसहितको एउटा समाचार जस्तै लिंक पनि सेयर गरेकी छिन ।

यता पर्यटन व्यवसायी संगठनका अध्यक्ष कुमार नामले चिनिने अन्जन थापाले महासचिवको गतिबिधि पहिल्यैदेखि शंकास्पद रहेको र केही अघि नै स्पष्टिकरण सोधेर कारबाही गरिएको दाबी गरे । उनले प्रचार गरिएको जस्तो धेरै व्यवसायी उता नगएको र गएको भनिएका केहीले पनि आफूहरू नगएको भनेर स्टेटमेन्ट दिएको बताए । उनले तिमल्सिनालाई १४ गते स्पष्टिकरण सोधेर १५ गते कारबाही गरिएको दाबी समेत गरे ।

यसपटक पनि टानको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेस निकटका व्यवसायीले तालमेल गरेर जाने निर्णय गरेका छन । जस अनुसार एमाले निकटका व्यवसायी राजेन्द्र सापकोटा अध्यक्षको उम्मेदवार हुने यसअघि नै निर्णय भैसकेको छ । उता माओवादीले सागर पाण्डेको नेतृत्वमा प्यानल बनाउने घोषणा गरेको छ । त्यस्तै राप्रपा निकटका रामप्रसाद सापकोटाले समेत अध्यक्षमा उम्मेदवार बन्ने घोषणा गरेका छन । पाण्डे र एमाले निकटका सापकोटा यसअघि नै टानको अध्यक्षमा एक एक पटक पराजित भएका व्यक्ति हुन ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार १३:२१