नाेवेल अस्पतालको अत्याचारः १४ लाख दिँदा पनि श्रीमानकाे शव पाइनन् अनिताले
२६ मंसिर, बिराटनगर । बिल नतिरेको भन्दै बिराटनगरस्थित नोबेल मेडिकल कलेज शव अन्तिम संस्कारका लागि लैजान दिइरहेकाे छैन ।
मोरङको कटहरी गाउँपालिका-३ की अनिता मिश्रले अस्पताल धाउन थालेको पाँच महिना पुग्न लाग्यो । ३२ बर्षीय श्रीमान दीपक मिश्र दुर्घटना परेपछि साउन २ गतेदेखि उपचारका लागि अस्पताल धाएकी अनिता दुई दिनयता शवका लागि अस्पताल धाइरहेकी छन् ।
पाँच महिना अस्पतालमा राखेर उपचार गर्दा उनको १४ लाख भन्दा बढी अस्पतालले उपचार खर्च लिइसकेको छ । साउन २ गते विराटनगर महानगरनगरपालिका ४ स्थित कञ्चनवारीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मिश्रको नोबेल अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो ।
दुर्घटनामा टाउकोमा चोट लागेपछि ५ महिनायता उनीहरु नोबेल थिए । उपचार गरेवापत अब नोबेललाई ३ लाख ५० हजार रुपैयाँ तिर्न बाँकी रहेको अनिताले बताइन् । यसअघि औषधि र उपचार खर्चवापत उनले १४ लाख भन्दा बढी बुझाइसकेकी छन् । उपचारकै क्रममा मंगलबार मिश्रको मृत्यु भएपछि अस्पतालले साढे तीन लाख रुपैयाँ तिर्न बाँकी रहेको भन्दै शव रोकेर राखेको छ ।
श्रीमानको उपचारमा आफ्नो सम्पत्ति सकिएपछि थप ३ लाख रुपैयाँ दिन सक्ने अवस्थामा छैनन् अनिता । खर्च जुटाउन नसकेपछि अन्तिम संस्कारका लागि श्रीमानको शव झिकाइदिन हारगुहार गरिरहेकी छिन् ।
प्रकाशित मिति : 17:51









