९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

जग्गा विवादमा छिमेकीले गराएका थिए पूर्वराज्यमन्त्री रायको हत्या

१५ साउन, काठमाडौँ । सर्लाहीमा पूर्वभूमि सुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको कारण खुलेको छ।

जग्गा सम्बन्धी विवादमा घरमा काम गर्ने सहयोगीले रायको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

रतनपुर बस्ने ४५ वर्षीय वीरेन्द्र रायले कविलासी नगरपालिका-३ स्थित मदनपुरका २५ बर्षीय राम उजैनमार्फत् रायको हत्या गराएको अनुसन्धानमा खुलेको डिएसपी दीपक श्रेष्ठको भनाइ छ । रामउजैन रायको घरमा काम गर्ने सहयोगी हुन्।

पूर्वराज्यमन्त्री रायको फार्म हाउस र वीरेन्द्रको खेत एकै ठाउँमा टाँसिएको र उक्त फार्म हाउस आफ्नो जग्गामा परेको वीरेन्द्रले दाबी गर्दै आएको प्रहरीले जनाएको छ।

एक महिनाअघि वीरेन्द्रले रामउजैनमार्फत् पूर्वराज्यमन्त्रीको घर-जग्गाको नक्सा झुक्याई मागेर फोटो र भिडिओ खिचेका थिए। त्यो सबै मिलाएर वीरेन्द्रले पक्की घर रहेको जग्गा आफ्नो बताउँदै आएका थिए । ‘घटना हुनुभन्दा केही दिनअघि वीरेन्द्रले रामउजैनलाई दुई लाख रुपैयाँ र व्यवसायका लागि फर्म पनि बनाइदिन्छु भनेका रहेछन्।’

डिएसपी श्रेष्ठका अनुसार ‘त्यसको बदलामा रामचन्द्रको हत्या गर्नुपर्ने उनको सर्त थियो। उनकै उक्साहट र प्रलोभनमा रामउजैनले हत्या गरेका हुन्, ।

सुरूमा रामउजैनले प्रहरीलाई बाहिरबाट जग्गा सम्बन्धी विवाद मिलाउन भन्दै आएका तीन जनाले हत्या गरेको हुन सक्ने बयान दिएका थिए । तर पोलियोग्राफ टेस्टमा उनको बयान झुटो देखिएपछि सोधपुछ गर्दै जाँदा उनले वीरेन्द्रको उक्साहटमा आफूले हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ।

उक्त हत्यामा संलग्न पक्राउ परेका दुवैजना विरूद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : July 30, 2024 at 11:33 am