१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

किसानको गुनासो: बाढीले धानवाली बगायो, दूध बिक्री भएन

१२ साउन, काठमाडौँ । दाङ राप्ती गाउँपालिका–६ पत्थरगढवास्थित  मनिराम चौधरीले वर्षात्ले  धानबाली बगाएकामा चिन्ता व्यक्त गर्नुभयो । स्थानीय खोलामा तटबन्ध नहुँदा यसरी बर्सेनि किसानले लगाएको धान बगाउने गरेको उहाँले गुनासो गर्नुभयो । “किसानको सम्पत्ति भनेकै खेतीपाती हो, त्यही पनि भेलले बगाइदिन्छ”, उहाँले भन्नुभयो, “यस्तो भएमा हामीले कसरी जीवन निर्वाह गर्न सक्छौँ ।” प्रत्येक वर्ष यसरी खेत बगाउने समस्या भएकाले तटबन्धको व्यवस्थापन गरिदिनुपर्ने उहाँको माग छ ।

त्यस्तै समशेर अलीले पनि आफूले दुई सय भैँसीपालन गरेको भए पनि उत्पादित दूधको बजारीकरण गर्न नसकिएको गुनासो गर्नुभयो । यसमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने माग राख्नुभयो । “मैले दुई सय भैँसीपालन गरेको छु”, उहाँले भन्नुभयो, “हामीले उत्पादन गरेको दूध बजारीकरण हुन सकेको छैन, अनि कसरी किसानलाई फाइदा हुन्छ ।” उहाँले अनुदानको व्यवस्थापन पनि हुनुपर्ने उहाँको माग थियो । किसानका लागि राज्यले उचित न्याय गर्नुपर्ने उहाँको माग छ ।

उत्पादनलाई नै पालिकाले प्राथमिकता राखेको राप्ति गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । उहाँले राप्ती गाउँपालिकाको सबैभन्दा बढी कृषकहरु पत्थरगढवामा रहेको जनाउँदै सोही ठाउँमा विकासका लागि पहल गरिरहेको बताउनुभयो । उत्पादनलाई नै पालिकाले प्राथमिकता राखेको भन्दै तटबन्ध तथा कलभर्ट निर्माणको कार्यका लागि लागि रहेको बताउनुभयो । उहाँले दूधलाई बजारीकरणका लागि पहल थाल्ने उहाँको भनाइ छ । कुलो मर्मत, तरकारी बजारीकरण, तटबन्ध निर्माणका कुरा माग भएको उहाँले बताउनुभयो । त्यति मात्रै नभई समयमा मल, बीउको उपलब्धताका विषयमा पनि कुरा उठेको अध्यक्ष विष्टको भनाइ छ ।

प्रकाशित मिति : July 27, 2024 at 12:20 pm