जनता आशावादी हुनेगरी काम गर्छौंः प्रविधिमन्त्री गुरुङ
११ साउन, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा स्थायी सरकार आएकाले अब जनता आशावादी हुनेगरी काम गरिने बताउनुभएको छ ।
कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले यहाँ आयोजना गरेको ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ कार्यक्रमको आज उद्घाटन गर्नुहुँदै उहाँले आफू पनि केही गर्ने उत्साहका साथ जिम्मेवारीमा आएकाले उत्कृष्ट कार्यसम्पादनका समन्वय र सहकार्यको भावनाले अगाडि बढ्ने बताउनुभयो ।
विकसित देशहरूमा सहकार्यका साथ मिलेर काम गर्ने संस्कृतिका कारण विकास सम्भव भएको उल्लेख गर्नुहुँदै हाम्रा युवाहरू पनि सोही कारण विदेश जान आकर्षित भइरहेका धारणा राख्नुभयो । मन्त्री गुरुङले छिमेकी चीनलगायत देश विकासको उचाइमा पुग्नाका कारण पनि त्यहाँको कर्मचारी संयन्त्र र सरकारबीच बलियो सहकार्य भएकाले हो भन्नुभयो । “विदेशमा सबै मिलेर काम गरौँ भन्ने संस्कार छ । त्यसैमा फड्को मारिरहेका छन् । हाम्रा युवाहरू पनि त्यतै पलायन भइरहेका छन्”, उहाँले भन्नुभयो, “हामीले पनि सहकार्यको संस्कार विकास गर्न जरुरी छ ।”
मन्त्री गरुङले सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने आवश्यक कार्यका लागि सुझाव दिन क्यानलाई आग्रह गर्नुभयो ।
प्रकाशित मिति : July 26, 2024 at 5:55 pm









