५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

साढुभाइ मण्डली र भान्जाको साँढेजुधाइमा संस्कृत विश्वविद्यालय

-प्रा डा ऋषिराम शर्मा

हिमवत खण्डको हाम्रो जस्तो सभ्यता, सांस्कृतिक सम्पन्नता र ऐतिहासिक गौरव अन्यत्र पाइँदैन । हामी ऋषिमुनि तथा ज्ञानीहरूका सन्तान हौं । यसको अर्थ हाम्रा महान र विद्वान पुर्खाहरूको आनुवांशिक स्मृति छ,।।। ‘यस ऐतिहासिक भूमिमा आदिज्ञान संग्रह– वेद, उपनिषद् र विभिन्न दार्शनिक एवं चिकित्सा र खगोल शास्त्रसम्बन्धी ज्ञान संग्रहहरू थिए । हाम्रा पूर्वज र अग्रजहरू परिश्रमी, रचनात्मक र अनुसन्धाता रहेको तथ्य पनि उत्तिकै सत्य हो । यो इतिहास पुनस्स्थापित गर्नु जरुरी छ ।’ (केपी ओली, माघ २२ २०७७)

हिमवत्खण्डको पुरातन सभ्यता, दर्शन र संस्कृतिप्रति अगाध आस्था राख्ने यी भनाइ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका हुन् र यी र यस्ता भनाइ उहाँका अभिव्यक्तिमा पटक पटक सुनिँदै आइएको पनि छ । नेपाल संस्कृत विश्वविद्यलयले हिमवत्खण्डको यो सभ्यता र संस्कृतिको पुनर्जागरण गर्न सकोस् भन्ने उद्देश्य राखेरै त होला, आजभन्दा करिब तीन वर्षअघि नेपाल संस्कृत विश्वविद्यालयमा पवित्र मनले एकजना पात्रलाई उपकुलपति (भिसी)मा नियुक्त गर्नुभो । निज भिसी प्रा डा यादव प्रकाश लामिछानेकै सिफारिसमा रेक्टर र रजिष्ट्रारको समेत नियुक्ति गर्नुभो र हिमवत्खण्डको त्यो गौरवमय पुनर्स्थापना गर्न गरिएको यो नियुक्तिका पात्रले यस विश्वविद्यालयमा गरेका कार्यले संस्कृत विश्वविद्यालयमा हिमवत्खण्डको गौरवमय सभ्यता पुनर्स्थापित होइन विश्वविद्यालयलाई शापित गर्न प्रवृत्त रहेको यथार्थ आफैँ हिलो छ्यापाछ्याप र मारमुङ्ग्रीमा उत्रेका नग्न दृश्यले दर्शाइरहेछ ।

अर्थात् यसो भनौँ, नेपाल संस्कृत विश्वविद्यालयमा अहिले बेमौसमी गाइजात्रा चलिरहेछ । उहाँहरू विश्वविद्यालयका पदाधिकारीहरू त हुनुहुन्छ तर अहिले नेकपा एमाले कोशी प्रदेशका निर्वाचित अध्यक्ष घनश्याम खतिवडाका साढुभाइ “भिसी” हुनुहुन्छ, जो पुरानो शीतलनिवासको धाक, कोहीकोही गुरुहरूको धाप र रापताप सहित रेक्टरलाई समेत साक्षी किनारा राखेर एकोहोरो एमाले महासचिव शंकर पोखरेलका भान्जा माधाव अधिकारी “रजिष्ट्रार” माथि निलम्बनको क्षेप्यास्त्र प्रहार गर्नु भएको छ । उहँमाथि यो शक्तिको स्रोत कुन गरुकृपाबाट प्राप्त भइरहेछ, बुझ्न कठिन छ । जे होस् यस युद्धले निर्लज्जताको लाखे नाच देखाइहेछ ।

dainiki.com

गुरुप्रसाद मैनालीको छिमेकी कथाका धनजिते र गुमानेले एक अर्काका पुर्खा र थातथलोलाई सरापेर भकुराभकुर मुक्का र लात बर्साएझैँ विश्वविद्यालयका कार्यकारी अर्थात् “भिसीरेक्टर मण्डली”ले भ्रष्टाचार लगायतका खुद्रे आरोपका झिँजाको मुठो बोकेर निलम्बनको मुक्का र लात्ती रजिष्ट्रार माथि बर्साएका छन् भने रजिष्ट्रार चाहिँ भिसीलाई दाङको अफिसमा नबसी काठमडौको घरमा बसी बसी टिएडिए खान नदिएको झ्वाँक सहित नियमविपरीत र विश्विद्यालयलाई दीर्घकालीन क्षति पुग्ने कामको विरोध आदि गरेका कारण भिसीले आफूमाथि अनाहक आरोप लगाउँदै भीसीको निलम्बनले आफूलाई जिउभरि डामेको र त्यो डामको उपचार गर्न काठमडौँ आएका छन् ।

रजिष्ट्रार निलम्बन गरेपछि मर्ने बेलामा हरियो काँक्रो भनेझैँ बँचेखुचेका ४ थान कार्यकारी सदस्य मिलेर विश्विद्यालयको अन्तिम भोज मनाउन गरिएको यो ताण्डव नृत्यको परिणाम र पुरस्कारस्वरूप अहिले कार्यकारीको बैठकमा बस्ने चारजनाले विश्वविद्यालयका नियन्त्रक, थुप्रै आफन्तलाई अनधिकृत कामु बढुवा र करार नियुक्तिका कोसेलीले आफ्नै गोजी भर्दै विश्वविद्यालयको अर्थतन्त्रलाई नै थिल्थिल्याउने र आइसियुमा लाने कार्य गरेको छ ।

शान्ति, सदाचार, नैतिकता, दर्शन, अनुशासन, वरत्र र परत्र मात्र होइन जीवन र जगतको, प्रकृति र पर्यावरणको, सभ्यता र संस्कृतिको सम्पन्नता र वैभवको गहन ज्ञान प्रदान गर्न स्थापना गरिएको विश्वविद्यालय अहिले बबुरो भएको छ । पदावधि सकिनेबेला गरिएको यो कुजात्राले गर्दा सभ्यता र संस्कृतिको धरोहर नेपाल संस्कृत विश्वविद्यालय भक्कनु छाडेर रोइहेको छ, बलिन्द्रधारा आँसु झारिरहेको छ ।

अहिले फेरि भिसी नियुक्तिको बेलामा संयोगवश केपी ओली नै प्रधानमन्त्री र विश्वविद्यालयका कुलपति हुनुहुन्छ । नियुक्ति गर्ने बेला हुने विमर्श र सत्पात्रको खोजी हुँदै गर्ला । तर अहिले भने हिमवत्खण्डको गौरवगाथा पढाउने यस विश्वविद्यालयमा अहिले यी पदाधिकारीहरूलाई तत्काल निलम्बन गरी निमित्त पदाधिकारी नियुक्त गरी छानविन अघि बढाउनु नै अहिलेको आवश्यकता बनेको कुरा यो लेखक कुलपतिसमक्ष विनम्र अनुरोध गर्दछु ।

प्रकाशित मिति : July 19, 2024 at 5:03 pm