११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

कृषिमा आत्मनिर्भर बनाउन कृषकलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको आग्रह

३१ असार, झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आयात प्रतिस्थापन गर्न कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने गरी योजना अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

झापाको हल्दिबारीमा आज कृषक तथा लघुउद्यमीहरूलाई कृषि सामग्री हस्तान्तरण गर्नुहुँदै उहाँले बढ्दो कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने गरी कृषिकार्यमा लाग्न कृषकलाई आग्रह गर्नुभयो । “नेपाल कृषि प्रधान देश हो तर पनि वर्षेनी अर्बौँको कृषिवस्तु आयात भइरहेको छ”, उहाँले भन्नुभयो, “मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने अगाडि बढ्नुपर्ने आवश्यकता छ । त्यसका लागि सबै तहका सरकारले कृषिमा लगानी र कृषकलाई प्रोत्साहन गर्नुपर्छ ।”

हल्दिबारी गाउँपालिकाले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत रू १५ लाख बराबरका विभिन्न सामग्री ५० प्रतिशत लागत सहभागितामा कृषक तथा लघुउद्यमी महिलालाई उपलब्ध गराएको हो । पालिकाले एक सय ७५ कृषकलाई मकै रोप्ने मेसिन, दुई सय एकजनालाई विद्युतीय स्प्रे ट्याङ्की र १८ महिला उद्यमीलाई मागका आधारमा सिलाइ, पिको र इन्टरलक मेसिन, टेबल सोकेस, इन्भर्टर, हेयर ड्रायर, क्लिमिङलगायत सामग्री र दुईवटा उद्यमी समूहलाई इलेक्ट्रिक सिलाई मेसिन र टेबल सोकेस प्रदान गरेको छ ।

गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राप्रपा अध्यक्ष लिङ्देन, गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर (महेन्द्र) वनलगायतको उपस्थिति रहेको थियो । रासस

प्रकाशित मिति : July 15, 2024 at 10:29 pm