१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

२३ स्वास्थ्य सेवासँग रिफरल अस्पताल निर्धारण गरी कैदीबन्दीको उपचारमा प्राथमिकता दिइने

३१ असार, काठमाडौँ । कारागार व्यवस्थापन विभाग, केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने ध्येयले स्वास्थ्य सेवा प्रवाहलाई थप सुदृढ एवं चुस्त बनाएको छ । यसका लागि अस्पतालले विशिष्टिकृत तथा अतिआवश्यक स्वास्थ्योपचार सेवा आवश्यक पर्ने कैदीबन्दीलाई सरकारी तथा निजी अस्पतालसँग सम्झौता गरेर स्वास्थ्य सेवा चुस्त बनाएको हो । काठमाडौँ उपत्यकाभित्रका विभिन्न २३ स्वास्थ्य सेवासँग सम्बन्धित संस्थालाई प्रेषण (रिफरल) अस्पताल निर्धारण गरी कैदीबन्दीको उपचारमा प्राथमिकता दिएको हो ।

कारागार अस्पतालका प्रमुख डा प्रकाश बुढाथोकीले भन्नुभयो, “विशिष्टिकृत तथा अतिआवश्यक स्वास्थ्योपचार सेवा आवश्यक पर्ने कैदीबन्दीलाई विभिन्न २३ सरकारी तथा निजी अस्पतालसँग सम्झौता गरेर स्वास्थ्य सेवालाई चुुस्त बनाइएको छ । यसबाट कैदीबन्दीले उपचारका अभावमा अकालमा ज्यान गुमाउनु नपर्ने अवस्था सिर्जना भएको छ ।”

उहाँका अनुसार पहिलो प्रेषण गर्ने अस्पतालमा वीर अस्पताल, नेपाल आँखा अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कान्तिबाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल, मानसिक अस्पताल, भक्तपुर क्यान्सर अस्पताल केन्द्रीय रक्तसञ्चार सेवा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, राष्ट्रिय मिर्गौला उपचार केन्द्र र आयुर्वेद चिकित्सालय रहेका छन् ।

ती अस्पतालमा श्यया ९बेड० खाली नभएमा अथवा थप विशिष्टकृत सेवा उपलब्ध नभएमा अस्पतालले दोस्रो चरणमा प्रेषण गर्नुपरेमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, नेसनल रेफरेन्स ल्याबोरेटरी, आनन्दवन अस्पताल, बिपी कोइराला लाइन्स आँखा उपचार केन्द्रलाई तोकिएको छ । ती अस्पतालबाट पनि प्रेषण गर्नुपरेमा अन्तिममा बिपी स्मृति अस्पताल, सुमेरु अस्पताल, स्पाइनल इन्ज्युरी रिहेविलिटेसन सेन्टर र अर्थोपेडिक अस्पताललाई तय गरिएको छ ।

यसैबीच केन्द्रीय कारागार अस्पतालले आफूसँग सम्झौता गरेका स्वास्थ्य संस्थाका प्रतिनिधिसँग कैदीबन्दीको उपचार सेवालाई अझ थप कसरी व्यवस्थित र चुस्त बनाउन सकिन्छ भनेर अन्तक्र्रिया गरेको छ । सो अवसरमा केन्द्रीय कारागार अस्पतालका प्रमुख बुढाथोकीले कैदीबन्दीको उपचारका क्रममा समस्या आएमा तत्काल जानकारी दिन आग्रह गर्दै आगामी दिनमा यस्ता उपचार सेवालाई थप सुदृढ बनाइने जानकारी दिनुभयो ।

सो अवसरमा सहभागीले कैदीबन्दीको उपचारका क्रममा आइपरेका विभिन्न समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए । देशका ७२ जिल्लामा ७५ कारागार र दुई सय सुधारगृह रहेका छन् । यस्ता स्थानमा २९ हजारभन्दा बढी कैदीबन्दी रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्तासमेत रहनुभएका डा बुढाथोकीका अनुसार अधिकांश कैदीबन्दीमा रक्तचाप, मधुमेह, कोलस्टोर, मानसिक समस्या, हाडजोर्नी, नाक, कान घाँटीका समस्या रहेका छन् । कैदीबन्दीमध्ये १० जना क्यान्सर र नौजना मिर्गौलाका बिरामी रहेका छन् । ती मिर्गौलाका बिरामीले डायलासिल सेवा लिइरहेका छन् ।

प्रकाशित मिति : 10:04