६५ यात्रुसहित त्रिशुलीमा बेपत्ता बसको खोजीमा सशस्त्र प्रहरीको गोताखोर टोली (भिडियो)
२८ असार, चितवन । ६५ यात्रुसहितको दुई वटा बस पहिरोसँगै त्रिशुलीमा खसेपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले सम्पूर्ण तयारीसहित खोजी सुरू गरेको छ । त्रिशुलीमा डुबेको बसको अहिलेसम्म केही पनि देखिएको छैन । बाढीका कारण त्रिशुली नदीको जलसतह समेत बढेको छ ।
शुक्रबार बिहान ३ः३० बजे बजे नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुबहाक बस त्रिशुली नदीमा खसेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन ।
अहिले दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगि उद्दार कार्य शुरु गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सडकमाथिबाट ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौ जाँदै गरेको विङर गाडी २१ यात्रुसहित र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस ४२ जना यात्रुसहित नारायणी नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट बाट ४५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोर सहित ५२ जना परिचालन भएका छन । सशस्त्र प्रहरीको साथै नेपाली सेना र नेपाल प्रहरीको टोली पनि बसको खोजीमा जुटेको छ । पहिरोले पुरिएको सडक डोजर र सुरक्षाकर्मीको सहायताले एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार ०८:३९