७ असार २०८३, आइतबार | Sun Jun 21 2026

हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी

१९ असार, काठमाडौँ । जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा रु ७३ लाखभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ ।

उक्त पालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७, को नियम ३९ ९५० मा विपरीत उक्त आर्थिक वर्षमा रु ७३ लाख १३ हजार तीन सय भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ ।

उक्त रकम घरभाडाबापत रु एक लाख ९६ हजार ५६०, बैठक भत्ता रु ४० हजार, राहत वितरण रु एक लाख ३५ हजार, इन्धनमा रु ३५ हजार, कार्यालय सामान खरिदमा रु एक लाख, अनुगमन भत्ता रु दुई लाख, विद्युतीय सामग्री खरिदमा रु तीन लाख ९० हजार खर्च भएको छ ।

यसैबीच, सिमकोट गाउँपालिका– १ र २ को ठेहे गाउँस्थित पञ्चमुखी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्यक्तिगत सरसफाइबारे प्रशिक्षण दिइएको छ । सबैका लागि दिगो खानेपानी, सरसफाइ र स्वच्छता परियोजनाले मङ्गलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई सरसफाइबारे प्रशिक्षण दिएको हो । कक्षा ५ सम्म अध्यापन हुने उक्त विद्यालयका हरेक विद्यार्थीलाई एउटा हातधुने साबुन पनि वितरण गरिएको थियो ।

प्रकाशित मिति : July 3, 2024 at 5:03 pm