२ श्रावण २०८१, बुधबार | Wed Jul 17 2024

-लक्ष्मण सिटौला

तपाईंलाई के लाग्छ, के प्रेम पाप हो ? अनि यौन चाहिँ श्राप ? के यौन पाप कर्म हो ? यदि यौन पाप र पाप कर्म थियो भने समस्त बिश्व जगत पापकै परिणाम हो। हामी सबै सबै पापीका सन्तान हौ। यौनलाई यदि सिर्जनासँग दाज्ने हो भने फेरि हामी पुन्यका प्रतिफल हौ । हाम्रो समाजमा यौन र प्रेम बर्जित छ । जोगीलाई र योगीलाई पुज्ने गर्छौ हामी तर भोगी र प्रेम गर्नेलाई देखिसहदैनौ। हामीहरुले सुरु देखिनै प्रेम र यौनलाई घृणा गर्दै आयौं।

रामायणमा यदि सीताले रावणसँग सहवास गरेकी भए सम्भवत आज सीता हिन्दु धर्मग्रन्थमा सबैभन्दा घृणित पात्र बन्नेथिइन। धन्न बाल्मिकीको ध्यान पुगेछ रामायण लेख्ने बेलामा । पुरुषको यौनलाई पचाउने यो समाज स्त्रीका यौन भने पचाउन सक्तैन ।

फरक यहीँबाट नै सुरु हुन्छ स्त्री र पुरुष बिचको बिभेद । महाभारतमा एउटा दुर्दान्त कथा छ, जब जुवाडे पान्डवहरुले आफ्नो प्रीय पत्नी द्रौपतीलाई जुवामा हारे तब दुशासनले द्रौपतीलाई खालबाट घिसारेर लगे । आफ्नो पत्नीलाई जुवामा हार्ने पान्डवलाई अझैसम्म पनि सम्मानको आँखाले हेर्दै आयो समाजले । दुर्योधन र दुशासन त कलंकीत भैहाले तर प्रीय पत्नीलाई जुवामा हार्नेलाई पनि किन सम्मानको आँखाले हेर्दै आयो समाजले यो कुरो बुझिनसक्नु छ र यो कुरामा आजसम्म कुनै नारीवादीहरुले बहस चलाएनन नत नारीहरु नै यो कुराको बिरोध गर्न सक्छन् । पाँच पतिकी पत्नी भएकी हिसाबले द्रौपतीलाई दुर्योधनले बेश्या भने । बहुपती प्रथा पौराणिक कालदेखि अहिलेसम्म धेरै कम सुनिन्छ किनभने नारी आफुले कहिल्यै चयन गर्दिन बहुपती। पुरुष मात्रै हो बहुपत्नी भोग्ने मनुवा।

महात्मा गान्धीले भनेका छन कि कायर भएर अन्याय सहि बाच्नु भन्दा हिंस्रक हुनु राम्रो । दिनदिनै बलात्कारका घटना पत्रपत्रिकामा पढिरहेका छौ हामीले र एउटा पुरुष मनले अर्को पुरुष शरीरलाई धिक्कारीरहनु पर्दा बलात्कार गर्ने पशु पुरुषलाई किन जन्माइन होला आमाले जस्तो लाग्छ । बलात्कार गर्ने पागल पुरुषलाई तत्काल किन प्रतिकार गर्न सक्तिनन नारी ! थाहा छ तिनीहरू कोमलताका प्रतीक हुन । भनिन्छ यौन घृणित काम हो त्यसैले यो लुकिचोरीमा गरिन्छ। यौनलाई पापको बिषय बनाइएकाले नै होला यस्को लागि दिन होइन रातनै उपयोग गरिन्छ । जुन काम अध्यारोमा हुन्छ त्यो काम नै खराब काम हो भन्ने कुरा बुझ्यो र बुझ्दै आयो समाजले ।

आजसम्म प्रेम र यौनलाई सामाजिकीकरण गर्न सकेन समाजले र बलात्कार जस्तो जघन्य अपराधलाई मलजल गर्ने काम भैरह्यो। प्रेम गर्नेलाई दुनियाँले पाता फर्काउछ। गाउँले सिङ्गै लागेर हत्या गर्छ जो केही वर्षअघि रुकुममा घट्यो । प्रेम बर्जित छ हाम्रो समाजमा। प्रेमको त बर्जित छ भने त्यहाँ यौन कसरी मान्य हुन्छ ? यौन मान्यता छैन।

बिहेपछी मात्रै यौनलाई मान्यता दियो समाजले। बिचार गर्नुस बिहे नगरेका कति करोड जनसंख्या होला यो दुनियाँमा अनि तिनीहरू सबै नपुंसक होलानत ? अनि तिनीहरूले के प्रेम गर्न नपाउने ? । नैतिकता र अनैतिकताको प्रश्न उभ्याए समाजका धर्म गुरुहरुले जो आफू चै भने भागवत भन्दै नारीहरु आफ्नो काखमा नाचुन भन्छन अनि आफ्नोलागी भने यौन प्रसाद मान्छन।

गुरुले छुँदा तरिने अनि मन नपरेको केटाले छोयो भने बलात्कार गर्यो भन्दिने आजको कतिपय युवा नारीहरु यो चरित्र बोकेर पनि हुर्किरहेका छन ? आजको युवा छिटो हुर्किन्छ। हलक्कै बड्छ। छिटो प्रेम गर्न खोज्छ । छिटो सहवासको नजीक पुग्छ । छिटो धनी हुन खोज्छ । भ्रष्टाचार गरेरै भए पनि सामाजिक प्रतिस्ठा राख्न खोज्छ। स्त्री, धन, प्रेम र यौन आजको सबैभन्दा छिटो चाहिने आवश्यकताको रूपमा बिकास भयो। फलस्वरूप युवाहरुमा ( स्त्री ,पुरुष ) दुवैमा बिकृती पैदा हुँदै गयो।

dainiki.com

आज सन्चारको व्यापक बिस्तार भएको छ। अनेकौं सामाजिक सन्जालहरुले आकाश नै धमिलिने अवस्थामा छ। सबै बर्गका हातमा मोबाईलको पहुँच छ । यस्ले गर्दा पनि समाजमा अनेकौं बिकृती फैलिएको पनि छ । १२ बर्षमा बिहे १३ बर्षमा बच्चा अनि १४ बर्षमा डिभोर्सको अवस्थामा पुगिसकेको छ आजको युवा।

प्रेम र यौनमा परिपक्वता बिनै आजका धेरै युवा युवतीहरूले समाजलाई अन्धतातिर धकेली रहेका छन। युवाहरुबाट घटित सबै क्रियाकलापलाई आर्थिक सामाजिक नैतिक दृस्ठिकोणबाट हेरिनु आवश्यक छ आज। प्रेमलाइ यौनसग जोडन थालेका छन आजका युवाले । वास्तवमा स्कुल लेबलमा सामाजिक शिक्षाको अध्ययन नहुनु र आधुनिक शिक्षाका नाउँमा शिक्षालाई पश्चिमीकरण गरियो। सामाजिक र नैतिक शिक्षालाई अनिवार्य बनाउनु जरुरी भैसकेको छ अब । देशको जनसंख्यामा युवा बर्गको नै बाहुल्यता छ । त्यो बर्गले सम्यमता अप्नाएन भने यौनहिन्सा बढिरहन्छ ।

इतिहासमा बलात्कार नभएका होइनन भएका छन । तर एउटाी अबला नारीलाई इछ्या बिपरित बलात्कार गर्नु र फेरि उनैको हत्या पनि गर्नु एउटा दर्दनाक परिवेशको उठान हो यो । यस्को बैठान कहिले हुने र कसरी हुने हो समाजमा ? । अहिले हाम्रो कानुन ,न्यायलय, न्यायाधीश, स्वतन्त्र न्यायपालिका, सम्बिधान र पार्ल्यामेन्ट पनि अलमलमा छ । बलात्कारीलाई मृत्यु दण्डको माग पहिले देखिनै हुँदै आएको छ । सडक सदन दुवै तातिने गर्छन् बेलाबेलामा । मृत्युदण्ड नै यस्को निराकरणको उपाय हो भनिन्छ तर त्यो ब्यवस्था हाम्रो कानुनमा छैन । हरेक बलात्कारको पछाडी कारण खोजिदैन। यस्को निदान खोजिदैन। यस्को स्थाइ सामाजिक चिन्तन बारेमा बहस गरिदैन । तत्कालका लागि दण्ड र सजायको ब्यवस्थापन भए खेल खत्तम । तर कुरो त्यही नै घुमिरहेको हुन्छ। बारम्बार बलात्कार हुन्छ। बारम्बार यौन हिंसा हुन्छ। बारम्बार सामाजिक हिंसा हुन्छ। बारम्बार प्रेमको पनि हत्या हुन्छ । जबसम्म प्रेम र यौनलाई पाप मानिन्छ तवसम्म बलात्कार र याैनहिंसाको चक्र चलिनै रहन्छ।

भारतकी फूलनदेवीको बारेमा हामी सबैलाई थाहा छ । उन्को बारेमा प्रसिद्ध निर्देशक शेखर कपुरले चलचित्र समेत बनाए । “द बेन्डेड क्वीइन ” जीवन के हो भनेर बुझ्नै नसक्ने अवस्थामा तिन्को बिहे भएको थियो । लोग्नेबाट प्रताडित तिनी पछि धेरै कुपुरुषबाट यौन हिन्साको सिकार भइन । जस्का कारण उन्लाइ डाकु बनेर बदला लिन बाध्य बनायो । आफ्नो बिगत जीवनका कारण फूलन ११ बर्ष जेल परिन । जेल पर्नुभन्दा अगाडि उन्ले धेरै कुपात्रहरुको जीवन सफाय पारिन । उन्को साहासको सम्मान गर्दै दुई दुई पटक भारतीय समाजवादी पार्टीबाट सभासद समेत बनिन। नेपालमा पनि किन जन्मिदैनन फूलनदेवीहरु ! म त भन्छु अब महिला रक्षाका लागि पनि फूलनहरुको आवश्यकता भैसकेको छ । जसरी फूलनले आफुमाथी अत्याचार गर्ने पुरुषलाई मृत्युदण्ड दिइन त्यसरी नै अत्याचारीलाइ सिध्याउने अधिकार नेपालका नारीहरुलाइ दिनुपर्ने अवस्था आइसकेको छ।

समाजशास्त्रीय दृस्ठिकोणले अध्ययन गर्दा बहु पुरुषसग यौन सम्बन्ध राख्ने महिलालाई बेश्या शब्द प्रयोग हुदै आयो । तर बहुपत्नी भोग गर्ने पुरुषलाई भने बेश्या पुरुष भनेन त्यो समाजले किनकि समाजमा पुरुषवादी चिन्तन हाबी भएको थियो र अझैसम्म भैरहेकै छ निरन्तर । मातृसतात्मक युगमा पनि स्त्रीले आफु अनुकुलको युग परिवर्तन गर्न सकेनन । फलत युग परिवर्तन भए पनि पितृसत्तात्मक सोच हावी भयो । पत्नीलाई जब जुहामा घिसारेर ल्याइयो पान्डवका आँखाबाट रगतको आँसु बगेको थियो । भारी सभामा द्रौपतीलाइ घिसार्नु नारीमाथिको जघन्य अपराध थियो । यस्मा दुर्योधन र दुशासन मात्रै होइन पान्डव पनि त्यतिकै बेमान छन । दुशासनको छातीको रगतले कपाल नधोएसम्म द्रौपतीले आफ्नो कपाल आजीवन खुलै राख्ने प्रतिज्ञा गरिन । इन्द्रप्रस्थ छोडेर बनावास जानुपर्दाको पीडाका दोष द्रौपतीलाई होइन पान्डव पुरुषहरुलाइ जान्छ र दिनुपर्छ । खै यो बारेमा व्यापक ब्याख्यान भएको ?

हाम्रोमा प्रेम बर्जित छ । प्रेम गर्नु पाप हो भन्ने मानसिकताबाट नेपाल र नेपाली समाज गुज्रिरहेकै छ । नेपाली समाजमा प्रेम कसैलाई पनि पाच्य हुदैन । जहाँ प्रेमलाइ बीष बोटको रूपमा लिइन्छ त्याहा सद्भावनाको फल होइन द्वन्द्व नै चर्किरहन्छ । हामी बच्चालाई सेक्स इजुकेशन दिन हुदैन भन्छौ र यसबाट झनै बच्चाहरु बिग्रने सम्भावना हुन्छ भन्छौ तर युरोपेली समाजमा वा पश्चिमी सस्कृतीमा सेक्स एजुकेसन अनिवार्य भैसकेको छ । जहाँ जुन कुराको अभाव छ वा जहाँ जुन कुरा दबाइन्छ त्याहा त्यही कुराको व्यापक खोजी हुन्छ । र त्यही कुरो ज्यादा चर्चामा आउँछ ।

धन सम्पत्ति सजिलोसँग प्राप्त हुदैन त्यही भएर हो मनुष्य जो पनि धनी हुन चाहन्छन । धनप्रती उ यति आशक्त हुन्छ कि धनैका लागि मान्छे अहोरात्र तड्पिन्छ दुःख गर्छ, छल्छ, ढाट्छ, चोर्छ जसरी नि धन थुपार्ने सपना देखेकै कारण समाजमा मनुष्यले नै हिम्शा निम्त्याउछ । सेक्स पनि यहि हो । सेक्सलाई अपराध नसम्झिनुस , सेक्सलाइ बर्जित नगर्नुस , सेक्सलाइ पाप नसम्झिनुस , केटा र केटी बिचको आकर्षण प्राकृतिक हो भन्ने सामाजिक अवधारणाको बिकास बनाउनुस अनि सेक्स प्रतिको जिज्ञासा कम हुन्छ । जीवन सामान्य हुन्छ । पशुहरु सेक्स प्रती कहिले हिस्रक छैनन किनकि उनीहरूमा सेक्स खुला छ । त्याहाँ सेक्स नपाएर कुनै बाघले बघिनीको हत्या गरेन । सेक्स नपाएर कुनै घोडाले घोडिनीलाई टाेकेर मारेन । तर सेक्स नपाएर एउटा पुरुषले स्त्री मारिरहेछ किन ? मनुष्य पशुभन्दा पनि किन गिरिरहेको छ ? कारण सबै खुला हुनुपर्ने भनेको होइन । दबाउन छोड्नुस बिद्रोह हुदैन तर जति दबाउदै जानुस यो त्यतिनै खुल्ला हुन खोज्छ । बर्षाको भेललाई डाडो नै काटेर थुने पनि अन्तत खोला जसरी नि बग्छ । किनकि खोलाले बग्न पाउनु पर्ने हुन्छ ।

समाजको सर्वमान्य सिद्धान्त पनि यहि हो कि कुनै धनी ठाकुरले वा जमिन्दारले आफ्ना आसमीहरुलाइ जति ठग्छ त्यति नै त्याहा भित्र भित्र सामाजिक बिद्रोह सुरु भैरहेको हुन्छ । अणुलाई खुम्च्याउदा बम निर्माण हुन्छ । लुकाउनु दबाउनु दबाब दिनु खुम्च्याउनु भनेको त्यस्को एकदिन बिस्फोट देख्नुलाइ नै हो । यही कुरा सामाजिक जीवनको एउटा महत्त्वपूर्ण अङ्गको रूपमा रहेको मनुष्य जातिको जैविक चाहना सेक्स माथी पनि लागू हुन्छ । सम्यमता अप्ननाउने कुरो समाजले सिकाए जस्तै आवश्यक मात्रामा खुल्ला हुन पनि यही समाजले सिकाउनु पर्छ र यसैलाई भनिन्छ यौनको सामाजिकीकरण। अर्को शब्दमा भन्ने हो भने यौन ब्यवस्थापन ।

अझ नेपाली समाजमा सेक्सलाई त पापको रूपमा लिइन्छ । सेक्स अंग्रेजीमा भन्न सक्छौ तर नेपालीमा उच्चारण गर्न कसैलाई छुट छैन । सेक्सको नेपाली उच्चारण गर्ने पुरुष कि त बहुला हो कि त नकचरो हो कि पातर हो वा कि छाडा पुरुष भनेर समाजबाट बर्जित हुन्छ । मैले नेपालमा कसैले सेक्सलाई नेपालीमा उल्था गरेर बोलेको सुनेको छैन । अझ महिलाले यो शब्द उच्चारण गर्न त परै जावोस सोच्न पनि सक्तिनन होला । सेक्स अपराध हो भन्ने कुरा हामीलाई सानै उमेरदेखि सिकाइन्छ।

बाहुनहरुको भान्सामा बच्चालाई छुन हुदैन भनेर सिकाइन्छ । केही गरि बच्चा भान्सामा उस्को आमालाइ छुन जान लाग्यो भने छुइ छुइ आउन हुन्न यहाँ पाप लाग्छ भनेर तर्साउने परम्परा थियो। त्यो भनेपछि झनै त्यो बच्चालाई भान्सा छुने जिज्ञासा बड्थ्यो र जसरी पनि उस्ले भान्सा छोएर छाड्थ्यो । वास्तवमा यो सेक्स प्रतिको अवधारणा पनि यहि हो । कसैले राम्रो भन्दैनन । कसैले पनि सेक्स र प्रेम प्रति राम्रो धारणा बनाउदैनन। अनि झन कौतुहलताको बिषय बनिदिन्छ सेक्स र सबैलाई उत्सुकता पैदा गरिदिन्छ। जसरी साना केटाकेटीले भान्सा जसरी नि छुन खोज्छन ।

पश्चिमा देशहरूमा जब एउटी नारी बालिग हुन्छिन त्यो अवधि्भित्र उनीसँग आफ्नो एउटा बोइफ्रेन्ड अनिवार्य हुनैपर्छ । बोइफ्रेन्ड नहुनु भनेको सामाजिक आपत्ति हो । बाबू आमालाई चिन्ता हुन्छ कि मेरी छोरीमा कुनै शारीरिक कमजोरी पो छ कि भनेर । बालिग हुदाँसम्म केटासँग हिड्ने सेक्सुयल सम्बन्ध राख्न पाउने घुम्न पाउने बाहिर रात बिताउन पाउने कुनै होटेलमा गएर सगै बस्न पाउने अधिकार हुन्छ त्यहाँ । हाम्रोमा कुनै प्रेमी प्रेमिका होटेलमा गएर रात बिताए भने पुलिसले हत्कडि लगाउछ । सामाजिक निन्दा हुन्छ । ज्यु मास्ने बेच्ने सार्वजनिक अपराध एेन लाग्छ।

कुनै रेस्टुरेन्टमा वा होटेलमा प्रहरीले छापा हान्छन र प्रेमील जोडीलाई थुनिन्छ । अभिवावक बोलाएर बेज्जत गरि कागजपत्र गरेर अबदेखि आइन्दा यस्तो अपराध कर्म गर्ने छैन भनेर पाँच पुस्ते उतार्न लगाइन्छ । अपराध यहि थियो कि ती दुई प्रेमील जोडी रिसोर्टमा गएर बसे । प्रेम गरे । माया साटासाट गरे । दुख सुख बिसाए । तर तिन्ले नै रुनुपर्छ । तिनकै हुन्छ निन्दा र घृणा । प्रहरीदेखि प्रशासनसम्म तिन्कै पछि पछि हुन्छन । यहाँ स्त्री र पुरुष घुम्न मनाही छ । यहाँ स्त्रीले पुरुषसग बोल्दा नि अपराध र पुरुषले स्त्री अनुहार हेर्दा नि अपराध । जहाँ प्रेम बर्जित छ त्याहा कुनै न कुनै आँखिझ्यालबाट अपराधले चिहाइरहेको हुन्छ । लुकेकै चिजको खोजिनिधी गर्ने मनुष्यको आदिम परम्परा त हो।

पोखराको एउटा होटेलमा नवबिवाहित जोडी हनिमुन मनाउन गएको बेलामा बिहे गरेको प्रमाणपत्र नहुँदा दुई रात थुनिएको खबर धेरै बर्ष अगाडि पत्रिकामार्फत आएको थियो । यहाँ बिवाहित जोडीलाई त सहज छैन भने नवप्रेमीहरुलाई त झन सम्भावना कम छ । लुकि लुकि डर त्रास प्रहरी र समाजको आतंकमा प्रेम गरिरहेछन प्रेमी प्रेमिकाहरु अनि आउछन हत्या र बलात्कारका घटनाहरू। प्रेममा निगरानी होइन अपराधमा निगरानी राख्नु राम्रो हो । रिसोर्टमा घुम्न गएका जोडीहरुलाइ रिसोर्टमा नआउनु भनेर जब प्रहरी नै छापा हान्छन भने दोष कस्को हो ? बग्ने पानी प्रेम र सेक्स उस्तै हो। जब थुनिन्छ वा जमाइन्छ यस्ले बाटो मोडन थाल्छ अपराधको रुप धारण गरेर ।

नेपालमा यदि यहि गतिमा महिला माथी यौन हिंसा हुँदै जाने हो भने कुनै पनि आमाबाबुले छोरी जन्माउने छैनन् । यसमा समाजशस्त्रीय अध्ययन हुनु जरुरी भैसकेको छ । यौनलाई कसैले दबाउन सक्तैनन् । चाहे पुरुष हुन वा स्त्री । समाजमा सबैभन्दा बढी चासो चियो र चर्चाको बिषय बनेको छ यौन । यौन त्यतिबेला मात्रै चासोको बिषय बन्छ जब यस्मा सामाजिक बन्धन हुन्छ ।

पस्चिमी देशहरुमा सेक्स चासोको बिषय बन्दैन किनभने कानुनत सेक्सलाई अपराधीकरण गरिएको छैन बरु यसलाई सामाजिकीकरण गरिएको छ । सेक्स प्राकृतिक जैविक सिर्जनात्मक कुरा हो भन्ने कुरा उनीहरूले बुझे । त्याहाँ बलात्कार नगड्य हुन्छ । बलात्कार पछि स्त्रीको हत्या भएको सुनिएको छैन पढिएको पनि छैन । एउटी स्त्रीले आफूले मन पराएको पुरुषसँग सेक्स प्रस्ताव तुरुन्तै राख्न सक्छे । सडकमा हिंड्दा होस वा फिलिम हलमा जाँदा होस वा कलेज जाँदा होस नेपाली युवाको ध्यान समकक्षी युवतीमा जान्छ किनकी यहाँ यौन बर्जित छ । यहाँ यौन र प्रेमलाई समाजले अपराधको रूपमा हेरेको छ । जुन कुरा बर्जित छ त्यहि कुरोले सडक तताउछ ।

खुला समाजमा अपराध कम हुन्छ । जति पुरातनवादी सोचाइ बाट मान्छे ग्रसित हुन्छ त्यो देशको कानुन पनि त्यतिनै पुरातनवादी हुन्छ र मानिसले आफुले आफैलाई दण्ड दिइरहेको हुन्छ । हामी पश्चिमी संस्कृति खतम छ भन्छौ तर खत्तम त हामी रहेछौ किनकी दैनिक स्त्री बलात्कारको खबर आइरहेको छ । अपहरण र हत्याको मुद्दाहरू बिना फैसला थन्किरहेका छन ।

यदि यौन अपराध नियन्त्रण भन्दा बाहिर गयो भने त्यो भन्दा घातक स्थिति केही हुदैन र यस्ले सामाजिक बिचलन ल्याउने निश्चित छ। जसरी युद्धमा होमिएको बेलामा शत्रु परास्तको मात्रै उदेश्य हुन्छ युद्धकर्मीलाइ। त्यस्तै यौवनको भोकले जलिरहेको पुरुष पनि त्यो बेलामा सेक्स भन्दा अरु केही देख्दैन । यस्तो हुनु अपराधी हुनु हो ? स्त्रीमा पनि सेक्स उन्मादको जलन भयंकर हुन्छ तर उनी सहन्छिन । यही फरक छ स्त्री र पुरुषमा । सहिदिनुमा प्रकृति पुज्य हुन्छिन जाइलाग्नुमा पुरुष पुरुषार्थी सम्झन्छ । नेपालमा यदि यौन हिंसा घटाउनु छ भने खुला बेश्यालय हुनुपर्छ भन्ने कुराहरू कतिपय साम्सदज्यूहरुले समेत उठान गरिसकेका छन ।

खास गरेर दोस्रो बिश्वयुद्द पछी खुला बेश्यालयको अवधारणा जन्मिएको हो युरोपेली देशहरूमा । हिटलर आफै पनि एउटी बेश्यासँग प्रभावित भएको कुरा उल्लेखित छ । बेश्या+आलय= बेश्यालय । आलय भनेको घर । बेश्या भनेको पैसाको लेनदेन गरेर यौन आनन्द लिने दिने क्रिया । बेश्या पहिला स्त्रीसँग मात्रै सम्बन्धित थियो तर अहिले बेश्या पुरुषसग पनि सम्बन्धित छ ।

सन्सारमा नेपाल बाहेक प्रायः सबै देशमा बेश्यालय छन । धेरै देशहरूले बेश्यालयलाई कानुनी मान्यता दिएर राज्यले कर समेत उठाइरहेको छ । आजको यो २१ औ शताब्दिको भौतिक बिश्वमा सेक्सलाई पापको रूपमा जसरी लिइएको छ , जसरी सेक्सलाई समाजबाट दबाइएको छ, जसरी सेक्सलाई तल्लो दर्जा दिइएको छ त्यसैको परिणाम भोग्दैछौ हामी बलात्कार जस्तो जघन्य अपराधको वृद्धिबाट । सेक्स छ र त हामी छौ । सेक्स छ र त पृथ्वी छ । सेक्स छ र त यो भौतिक उन्नती उन्नयन छ । सेक्स छ र त माया छ । नत्र रुख बिरुवा ढुङ्गा मुढा भन्दा के फरक हुन्छ होला र मनुष्य जीवन पनि । सेक्स जति बर्जित कुरो अरु केही छैन समाजमा । सेक्स गर्न पाइदैन भनिरहेछौ हामी फेरि जनसंख्या थपिएकै छ, सेक्स र प्रेम बर्जित भएको कारण ले यौन हिंसा दिनानुदिन बढीरहेको छ।

बलात्कार भयो भनेर कानुनी उपचार तिर मात्रै सरकारको र समाजको ध्यान गएको छ तर बलात्कार हुनु पछाडीको मुल रहस्य वा कारण के हो भनेर त्यस्को निराकरण गर्नतिर कहिले गएन समाज । यौनलाई सहजीकरण, ब्यावस्थापन अनि सामाजिकीकरण गर्न सकिएन भने फेरि पशुत्वाग्नीमा जल्न बिवश हुन्छन निर्दोष नारीहरु। सेक्सलाई पापको रूपमा यदि नलिइदिने हो भने, सेक्सलाई यस्तो कडा रूपमा नदबाउने हो भने र सेक्सलाई सामाजिकीकरण गरिदिने हो भने नेपाली समाजमा यौन हिंसामा अवस्य कमी आउने छ । प्रेमको दण्ड पाउनु नै छ भने प्रेममै होमिएर मरेका प्रेमीहरुको कथा पनि प्रसस्त छ ।

(राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको पर्यटन विभागका प्रमुख  सिटाैलासँग इमेलमा कुरा गर्नसकिन्छ । त्यसका लागि सम्पर्क ठेगाना [email protected] रहेको  छ। )

प्रकाशित मिति : १९ असार २०८१, बुधबार १२:४०