७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पत्रकार महासंघको साख जोगाउन पूर्व अध्यक्षहरू अघि सरे, यस्तो छ पाँच अध्यक्षको चार बुँदे विज्ञप्ति

१६ असार, काठमाडौँ । नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्वले संस्थाको साख र मर्यादा बेचेर सक्ने डरले पूर्व पाँच अध्यक्ष एकै ठाउँमा उभिएका छन । आइतबार चार बुँदे विज्ञप्ति जारी गर्दै महासंघका पूर्वअध्यक्षहरू किशोर नेपाल,  सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँलेले महासंघको साख र मर्यादा कायम गर्न पूर्व सभापति र अध्यक्षहरू आवश्यक सहजीकरण गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

उनीहरूले विज्ञप्ति मार्फत लोकतन्त्रको जगेर्ना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हितमा विभिन्न कालखण्डमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको नेपालको अगुवा नागरिक संस्था समेत रहेको महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयहरूमा तालाबन्दी र हुलहुज्जत हुनुलाई हामी दुर्भाग्यपूर्ण र आपत्तिजनक मानेका छन ।

उनीहरूले नेपाली पत्रकारहरूको साझा र भरोसायोग्य संस्था नेपाल पत्रकार महासंघभित्र पछिल्लो केही दिनयताका काम–कारबाही र गतिविधिप्रति गम्भीर चिन्ता, चासो र सरोकार व्यक्त गरेका छन । उनीहरूले महासंघका सदस्यहरूले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरूले गर्न सक्ने हस्तक्षेप र राख्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न महासंघका सदस्यहरूमा अपील समेत गरेका छन ।

पाँच अध्यक्षले संयुक्त रूपमा महासंघको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यता लगायत विवादको समाधान महासंघको वैधानिक संरचना मार्फत खोज्ने परम्परा अवलम्बन गर्दै विवाद हल गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासंघका अध्यक्ष सहित केन्द्रीय समितिको ध्यानाकर्षण समेत गराएका छन ।

यस्तो छ विज्ञप्ति 

नेपाल पत्रकार महासंघका पूर्व सभापति र अध्यक्षहरूको वक्तव्य
(१) नेपाली पत्रकारहरूको साझा र भरोसायोग्य संस्था नेपाल पत्रकार महासंघभित्र पछिल्लो केही दिनयताका काम–कारबाही र गतिविधिप्रति महासंघका हामी पूर्व सभापति र पूर्व अध्यक्षहरू गम्भीर चिन्ता, चासो र सरोकार व्यक्त गर्दछौं ।
(२) लोकतन्त्रको जगेर्ना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हितमा विभिन्न कालखण्डमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको नेपालको अगुवा नागरिक संस्था समेत रहेको महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयहरूमा तालाबन्दी र हुलहुज्जत हुनुलाई हामी दुर्भाग्यपूर्ण र आपत्तिजनक कार्य मान्दछौं ।
(३) महासंघको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यता लगायत विवादको समाधान महासंघको वैधानिक संरचना मार्फत खोज्ने परम्परा अवलम्बन गर्दै विवाद हल गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासंघका अध्यक्ष सहित केन्द्रीय समितिको ध्यानाकर्षण गराउँदछौं । महासंघको साख र मर्यादा कायम गर्न पूर्व सभापति र अध्यक्षहरू आवश्यक सहजीकरण गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
(४) नेपाल पत्रकार महासंघका सदस्यहरूले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरूले गर्न सक्ने हस्तक्षेप र राख्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न महासंघका सदस्यहरूमा हामी अपील गर्दछौं ।
१ किशोर नेपाल
२ सुरेश आचार्य
३ तारानाथ दाहाल
४ विष्णु निष्ठुरी
५ शिव गाउँले

प्रकाशित मिति : June 30, 2024 at 8:54 pm