भ्रष्टाचारको आरोपले मेरो चरित्रहत्या भयोः अध्यक्ष खतिवडा
१६ असार, काठमाडौँ । धादिङको सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले गाउँपालिक भ्रष्टाचारमा डुब्यो भन्ने समाचारले आफ्नो चरित्रहत्या गरेको बताएका छन । दैनिकीमा जेठ ३० गते प्रकाशित भएको भ्रष्टाचारमा डुब्यो सिद्धलेकः छानविनका लागि उपाध्यक्षसहित १२ जनप्रतिनिधिले दिए उजुरी काे समाचारमा प्रतिक्रिया जनाउँदै उनले अन्य जनप्रतिनिधिले कार्यपालिका बैठक छाडेर मिडियाबाजी गर्दै हिँड्दा आफ्नो सार्वजनिक छवीमा असर गरेको बताएका छन ।
असार ११ गते दैनिकीको सञ्चालन संस्था अनुपम मिडियाको नाममा पत्र लेख्दै अध्यक्ष खतिवडाले गाउँपालिका उपाध्यक्ष कार्यालिकाको पाँचवटा बैठकमा अनुपस्थित भएको भन्दै मितिसहितको फेहरिस्त प्रस्तुत गरेका छन । अध्यक्ष खतिवडाले आफूले भ्रष्टाचार गरेको भन्दै उजुरी गर्ने र मिडियामा जाने जनप्रतिनिधिले कार्यालयको साख कमजोर बनाएको आरोप लगाएका छन ।
अध्यक्ष खतिवडाको मनोमानीले गाउँपालिकामा भ्रष्टाचार बढेको भन्दै उपाध्यक्षसहित दुई तिहाई कार्यपालिका सदस्यले छानविनको माग राखेर जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति धादिङमा उजुरी दिएका छन । उपाध्यक्षसहितका बहुमत कार्यपालिका सदस्य उजुरी बोकेर प्रशानको शरणमा पुगेपछि कार्यपालिकामा थप तनाव उत्पन्न भएको छ । कार्यपालिकाको पाँचवटा बैठक बोलाएर स्थगित भैसकेको छ ।
गत स्थानीय निर्वाचनमा तत्कालिन गठवन्धनको साझा उम्मेदवार बनेर नेपाली काँग्रेसका परशुराम खतिवडा अध्यक्षमा र नेकपा एसकी सविता अर्याल उपाध्यक्षमा विजयी भए पनि अध्यक्ष खतिवडाले अन्य राजनैतिक दलबाट निर्वाचित जनप्रतिनिधि, दल र समर्थकहरु प्रति निकै अपमानजनक व्यवहार देखाउँदै असहिष्णु देखिंदै आएका अरूको आरोप छ ।

हरेक निर्णयमा जालझेल गर्ने, कार्यपालिकाको बैठकमा एउटा बिषयमा छलफल गरी पछि अर्कै निर्णय लेख्ने, माइन्युट घरमा लगेर राख्ने, निर्णयहरु आंफुसुखुी थप्दै जाने कृषि फार्म र सडक निर्माणको नाममा अवैध ढंगबाट बालुवा तस्करी गरि पालिकालाई हानी नोक्सानी पुरयाएको, कार्यपालिका बैठकको माईन्युट आफ्नो कव्जामा राखी छलफलमै नआएको प्रस्तावमा निर्णय लेखेर थप्ने गरेको लगायतका बिषयमा छानविनको माग राखी कार्यपालिकाका १६ मध्ये १२ जना सदस्यले हस्तक्षार गरी जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएका छन् ।
गाउँपालिकाको विभिन्न स्थानमा अबैध रुपमा सञ्चालन भइरहेको उत्खनन तत्काल रोक्न गाउँपालिकाका उपाध्यक्ष सहित १२ जना कार्यपालिका सदस्यले प्रशासनमा लिखित उजुरी दिएपछि त्यस्को प्रतिशोधमा अध्यक्ष परशुराम खतिवडाले उपाध्यक्ष सविता अर्याललाई दिएको सवारी खोस्नुका साथै सचिवालय कर्मचारी हटाउने र उपाध्यक्षको कार्यकक्षमा सिसिटिभी जडान गरी त्यहाँको गतिविधि स्वयंले अनुगमन गर्न थालेका छन् ।
अध्यक्षको आदेश पछि उपाध्यक्षको सचिवालयमा सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत रामकुमार श्रेष्ठलाई वडा नम्बर ७ को पशु स्वास्थ्य कार्यकर्ताको रुपमा काम गर्न सरुवा गरिएको छ भने सचिवालयको कम्प्युटर, प्रिन्टर समेत हटाईएको छ । त्यसैगरी उपाध्यक्षले चढ्दै आएको मोटर अध्यक्षले खोसेर आंफै प्रयोग गर्न थालेका छन भने अध्यक्षले चढ्ने गरेको मोटर एक महिना देखि गाउँपालिकामा देखिएको छैन ।
अवैध रुपमा खानी सञ्चालन गरी बालुवा निकासी गरेको र पालिकामा तिर्नुपर्ने वातावरण शुल्कसमेत नबुझाएर गाउँपालिकामा आउनुपर्ने राजस्व हानी नोक्सानी गरेको भन्दै स्थानीय तीन दल र बहुमत कार्यपालिका सदस्यले छुट्टाछुट्टै रुपमा छानबिन गरी आवश्यक कारबाही गर्न माग गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसँग लिखित आग्रह गरेका थिए ।
यस्तो छ गाउँपालिका अध्यक्षले लेखेको पत्र

प्रकाशित मिति : 18:12









