२ श्रावण २०८१, बुधबार | Wed Jul 17 2024

जनताको बहुदलीय जनवादको सान्दर्भिकता


-किरण देउजा

जनताको बहुदलीय जनवाद (जबज) नेकपा (एमाले)का नेता कार्यकर्ताहरुले गायत्री मन्त्रको रुपमा मान्ने गरेको, एमालेको अधिवेशन/सम्मेलन, मदन जयन्ती र स्मृतिको दिनमा साथै प्रशिक्षणमा (पहिले धेरै हुन्थ्यो, अहिले कहिलेकाँहि मात्र हुने प्रशिक्षण) अत्यन्तै धेरै उच्चरण गरिने मूल मन्त्र झै छ । अरु समयमा चर्चा हुन छोडेको छ । यदाकदा कुनै प्रसंग आउदा बाहेक । त्यो चिज नै जबज हो । यस विषयमा जति बहस सायद अन्य विषयमा भएको छैन् होला ।

एमालेको ऐतिहासिक पाँचौँ राष्ट्रिय महाधिवेशन (वि.सं. २०४९ माघ १४–२०) मा, तत्कालिन महासवि मदनकुमार भण्डारीले प्रस्तुत गरेर अनुमोदन भएको र त्यसबखत नेपाली क्रान्तिको कार्यक्रमको नाम दिइएको ‘जनताको बहुदलीय जनवाद’ को विषयमा त्यस यता छलफल, बहस, चर्चा र विमर्श हुँदै आएको छ । सो महाधिवेशनमा गरामगरम बहस गरेर अत्याधिक बहुमतले पारित गरिएको थियो जबज ।

जबज के हो त ?

तत्कालीन समय अर्थात सन् ९० को दशकमा शोभियत संघ र पूर्वी युरोपियन देशहरुको समाजवाद ढाँचा भत्किरहेको थियो । सोहि समयमा सार्वजनिक भएको दस्तावेज हो, जनताको जबज । पूर्वी युरोप र सोभियत संघमा समाजवादी संरचना भत्किएपछि संसारभर कम्युनिष्टले भन्ने गरेको समाजवादको भयंकर ठूलो विरोध सुरु भयो । संसारभर कम्युनिस्ट आन्दोलन कमजोर भइरहेको समयमा जबज दस्तावेज आएको हो । कम्युनिष्टहरु एक दलीय भए, जनताद्धारा अनुमोदन नहुने आदिलाई निरुत्साहित गरेर कम्युनिष्टहरु लोकतन्त्र प्रति प्रतिबद्ध हुने, जनताको लागि जनताले नै शासन गर्ने, मानवअधिकारको रक्षा गर्ने, बहुमतको निर्णय अल्पमतले मान्ने आदि कारणले जबज, मदन भण्डारी र नेपाली कम्युनिष्ट आन्दोलनको उचाई नयाँ ढगंले लियो । जबजका त्यस्ता के विशेषता छन् ? जुन विषयको आजपर्यान्त बहस हुदै आइरहेको छ । जसलाई किन एमालेले आफ्नो मूलमन्त्र मानेको छ ? यसका १४ विशेषताहरुलाई तल संक्षेपमा चर्चा गर्ने कोशिस गरेको छु ।

१. संविधानको सर्वोच्चताः कुनै पनि वर्ग, व्यक्ति, संस्था वा पार्टी संविधानभन्दा माथि हुन सक्दैन । संविधान सबैको निम्ति अनुल्लंघनीय हुनुपर्दछ । समाजको निरन्तर प्रगतिलाई संविधानले निकास दिन सक्नुपर्दछ ।

२. बहुलवादी खुला समाजः प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने, बोल्ने तथा आफ्ना अनुभूतिहरू अभिव्यक्त गर्ने स्वतन्त्रता हुनुपर्दछ । बाहिरी दुनियाँबाट अलग, बन्द र एकोहोरो समाज हुनुहुँदैन ।

३. शक्ति पृथकीकरणको सिद्धान्तः शक्ति व्यक्तिको हातमा मात्र होइन संस्थाको हातमा पनि अति केन्द्रिकरण हुनुहुँदैन । एउटै संस्था कार्यकारी, विधायकी र न्यायिक अधिकार प्रयोग गर्ने केन्द्रीय शक्ति हुनुहुँदैन ।

४. मानव अधिकारको रक्षाः साँचो अर्थमा कम्युनिष्टहरू नै मानव अधिकारको सबभन्दा दृढ योद्धा हुन् र हुनसक्छन् । मानव अधिकारको रक्षा कम्युनिष्ट आन्दोलनको महत्त्वपूर्ण तत्व हो र हुनुपर्दछ ।

५. बहुदलीय प्रतिस्पर्धा प्रणालीः राज्य र त्यसका राजकीय निकायहरू सम्पूर्ण जनताको चासो र सरोकारका विषय हुन् । त्यसमा एउटा मात्र पार्टीको एकाधिकार हुनुहुँदैन । वर्गीय विविधता भएको समाजमा अनेकन राजनीतिक पार्टीहरू हुन सक्दछन् । तिनलाई संविधान बमोजिम राजनीतिक प्रतिष्पर्धा गर्ने स्वतन्त्रता दिनुपर्दछ ।

६. आवधिक निर्वाचनः जनताले एकपटक गरेको निर्णय संधैको निम्ति शाश्वत हुन सक्दैनन् । निर्वाचन–विचार, कार्यक्रम र नीतिहरूको आधारमा निश्चित अवधिमा हुनुपर्दछ । एउटै नीति र कार्यक्रम भित्र व्यक्ति मात्र रोज्न पाउने व्यवस्था सारतत्वमा लोकतान्त्रिक हुन सक्दैन ।

७. बहुमतको सरकार र अल्पमतको विपक्षः बहुदलीय पद्धतिको मूल तत्व संगठित प्रतिस्पर्धा हो । अर्कोमूल तत्व बहुमतको सरकार र अल्पमतको विपक्ष हुन संवैधानिक व्यवस्था हो । सरकारको विपक्षमा वैधानिक रूपमा काम गर्न पाउने प्रणाली लोकतान्त्रिक प्रणाली हो ।

८. कानूनको शासनः कुनै पनि व्यक्तिमाथि कानून अनुसार अधिकार प्राप्त निकायको औपचारिक निर्णयबाट मात्र दण्डित गर्न सकिने व्यवस्था । सरकार र शक्ति हातमा भएको कुनैपनि निकाय वा व्यक्तिले स्वेच्छाचारी ढंगले काम गर्न पाउने छैनन् र ती सबै प्रचलित कानून अनुसार गरिने छन् ।

९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरणः जनताको जनवादी व्यवस्था अपेक्षाकृत लामो समयसम्म रहने सामाजिक व्यवस्था भएको हुनाले यसलाई चरणवद्ध रूपमा अगाडि बढाइने छ । पहिलोचरणः पुरानो व्यवस्थाका शोषणका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने । दोश्रो चरणः नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने । तेश्रो चरणः समाजवादमा संक्रमणको निम्ति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने ।

१०. विदेशी पूजी र प्रविधिः वैदेशिक पूँजी र प्रविधिको सवालमा नीतिगत रूपमा ढोका बन्द गरिने छैन । संविधान र ऐन कानूनको सिमाभित्र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग गरिने छ ।

११. क्षतिपूर्तिः नयाँ समाजको निर्माणमा सकारात्मक योगदान गर्न नचाहने र त्यसको विरोध र ध्वंसमा लाग्ने सामन्ती जमिन्दार बाहेक अरूलाई जमिनको क्षतिपूर्ति दिइनेछ । क्षतिपूर्तिलाई उद्योग, व्यापार र व्यवसायतर्फ स्थानान्तरित गराउने नीति लिइनेछ ।

१२. विदेश नीतिः पञ्चशीलको सिद्धान्त अनुरूप वैदेशिक सम्बन्ध कायम गरिने । आफ्नै प्रत्यक्ष पहलबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउने । क्रान्ति र निर्माणको ठोस व्यवहारिक विषयलाई बेवास्ता गरेर केवल सैद्धान्तिक आग्रहबाट मात्र वैदेशिक नीति निरुपित नहुने ।

१३. नेतृत्व र अधिनायकत्वः सेवा, पहलकदमी र प्रतिस्पर्धाद्वारा नेतृत्व प्राप्त गर्ने । अधिनायकत्व शव्दको सट्टा आमरूपमा जनताको जनवादी राज्यसत्ता शव्दको प्रयोग गर्ने ।

१४. जनताको बहुदलीय जनवादः यो नेपाली सन्दर्भको नयाँ जनवाद हो । नयाँ जनवादी क्रान्तिको सारतत्व र यस कार्यक्रममा थप १४ विशेषतालाई व्यक्त गर्ने गरि जनताको बहुदलीय जनवाद नामाकरण गरिएको हो ।

अब चर्चा गरौं, जबजको सान्दर्भिकता बारे । माथिको १४ वटा बुँदाहरु राम्रोसँग अध्ययन गर्ने हो भने त्यहीबाट नै स्पष्ट हुन्छ जबजको सान्दर्भिकता कति छ हैन, अझै बढेर गएको छ । जबजका महत्वपूर्ण २ पक्ष छन् ।
क) पहिलो, क्रान्ति गर्नु भन्दा पहिलेको (पूर्वको) सन्दर्भमा ।
ख) दोस्रो, क्रान्ति सम्पन्न भए पछिको सन्दर्भमा ।
क्रान्तिको सन्दर्भमा जबजको स्पष्ट मान्यता छ, क्रान्ति शान्तिपूर्ण बाटोबाट पनि सम्भव छ । शान्तिपूर्ण बाटोको सम्भावना रहेसम्म त्यसै बाटोबाट हिंड्नुपर्छ । हिंसाको बाटोमा लाग्नु अनुचित हुन्छ । क्रान्ति पछिको ब्यवस्था, शासन प्रणाली बहुदलीय रहने भन्ने जबजको प्रष्ट मान्यता हो ।

क्रान्ति सम्पन्न भइसकेको अवस्थामा जबजले राखेको क्रान्ति शान्तिपूर्ण बाटोबाट पनि सम्भव छ मान्यताको सान्दर्भिकता समाप्त भयो भन्न सकिन्छ । के कम्युनिष्टहरूले सकेको दिन एक दलीयता लाद्ने हो त ? श्रमजिवी जनताको अधिनायकत्वको नाममा कम्युनिष्ट पार्टीको अधिनायकत्व लाद्ने हो र ? विचार र कामको प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर शासन गर्ने बाटो छाडेर बलपूर्बक अरू विचार, पार्टी, शक्तिलाई दबाएर शासन गर्ने बाटोमा जाने हो र ?

अहिले एक दलीयता लाद्न नसक्ने भएको कारणले मात्र बहुदलीयता मानेको होइन, वर्गहरू रहेसम्म फरक फरक विचार र पार्टीहरू रहनेछन् । फरक विचार र पार्टीहरूलाई बलपूर्बक दमन गरेर जनताको नाममा शासन गर्ने होइन । विचार र काममा प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर मात्र शासन गर्नुपर्छ, सत्तामा बस्नुपर्छ भन्ने मान्यता नै जबजको मूल मर्म हो । तसर्थ जबजको सान्दर्भिकता सकिएको छैन, अझै बढेर गएको छ ।

जबजबका विशेषताहरू सामान्य लागे पनि विगतमा कतिपय कम्युनिष्ट मुलुकहरूमा तिनीहरूको कार्यान्वयनमा कमजोरी रहन गयो । त्यसैले जवजले विशेष र बेग्ललै ब्याख्या सहित तिनीहरूलाई प्रतिवद्धताको रूपमा महत्वका साथ समावेश गरेकोले विशेष मान्न सकिन्छ । निष्कर्षमा जबजले क्रान्ति अघिको बाटो मात्र होइन क्रान्ति पछिको बाटो पनि देखाएकोले जवजमाथि धावा बोल्नुको साटो त्यसले देखाएको बाटोमा हिंडे नेपालका कम्यूनिस्ट पार्टीहरू नअल्मलिई गन्तव्यमा पुग्न सक्छन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार ०९:०९