सहर सफा बनाउन यातायातमन्त्री महासेठ पनि मेयर शाक्यसँगै कुचो लिएर सडकमा
२२ मंसिर, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले ‘सहरी सौदर्य प्रवद्र्धन सघाउ अभियान’लाई निरन्तरता दिएको छ । काठमाडौ महानगरपालिकाले मंसिर ८ गतेदेखि सुरु गरेको यो अभियानलाई अब निरन्तरता दिने बताएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि काठमाडौँ महानगरपालिकाले रात–दिन नभनी सरसफाई अभियानलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्दै मन्त्रालयको पनि साथ र सहयोग निरन्तर रहने बताउनुभयो । शनिबार सरसफाई अभियान सुरु हुनु अघि मन्तव्य राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौँ महानगरपालिकाले काम गरिरहेको स्मरण गराउँदै भन्नुभयो– ‘महानगरपालिकाले रातो–दिन काम गरिरहेको छ । तर, अहिले बन्दै गरेका भौतिक संरचना र त्यसका निर्माण सामाग्री जथाभावी मिल्काउँदा सहरको सौर्दयीकरण बढाउन केही समस्या भएको छ ।’

त्यसैगरी मन्त्री महासेठले राजधानी भित्रिने नाकाबाट आएको धुलोका कारण पनि महानगर फोहोर भएको भन्दै अब जेठ मसान्तासम्म सबै ठिक हुने दाबी गर्नुभयो । ‘ म तपाईँहरुसँग जेठ मसान्तासम्मको समय माग्छु । त्यो बेलासम्ममा कलंकी–नागढुंगाको बाटो पनि बनिसक्ने छ,’ उहाँले भन्नुभयो, ‘त्यतिबेलासम्म काठमाडौँ महानगरपालिका र हामी मिलर आवश्यक पर्यो भने प्रदेश सरकारसँग पनि साथ लिएर महानगरपालिका सफा गर्ने छौँ । यो मेरो प्रतिवद्धता पनि हो ।’ मन्त्री महासेठले भित्री र बाहिरी दुवै सडकलाई व्यवस्थित बनाए मात्र परिणाम प्राप्त हुने भन्दै मौसम प्रतिकुलताले कलंकी नागढुङ्गा सडक निर्माण भईनसकेकोले धुँवा धुलो नियन्त्रणमा समस्या भएको बताउनुभयो ।
‘सहरी सौन्दर्यीकरण बढाउन यो अभियानलाई निरन्तरता दिने तयारी गरेका छौँ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले भन्नुभयो, ‘अहिले धरहरा, दरवारहाइस्कुल, वीर अस्पताल र रत्नपार्कमा ठूला–ठूला भौतिक संरचना निर्माण भैरहेका छन् । यी संरचनाका लागि आवश्यक निर्माण सामाग्री ढुवानी गर्ने साधनले जथाभावी धुलो, गिट्टी, बालुवा नझार्ने हो र ठेकेदारहरुले पनि यति कुरामा मात्रै ध्यान दिने हो भने महानगर सफा राख्ने हाम्रो अभियान धेरै हदसम्म सफल हुने थियो ।’

उहाँले अहिले पनि निरन्तररुपमा महानगर सुन्दर बनाउने अभियानमा जुटेका भन्दै थप पाँच ओटा ब्रुमर निकट भविष्यमै आउने तयारीमा रहेको बताउनुभयो । उहाँले आफू निर्वा्चित भएर आएको अवस्थाको भन्दा अहिले विस्तारै महानगरपालिका धुलोमुक्त हुँदै गएको र अब अझ सुन्दर र सफा महानगर हुने दाबी पनि गर्नुभयो । मेयर शाक्यले अहिले पनि चाहेको जति काम हुन नसकेको भन्दै यसरी सरसफाई गर्ने कामलाई महानगरपालिकाले नियमित रुपमा अघि बढाउने बताउनुभयो ।
उपमेयर हरिप्रभा खड्कीले पनि विकास जादूको छडी जस्तो नभएको भन्दै विस्तारै विकासको अभियान अघि बढ्ने बताउनुभयो । उहाँले अब महानगरपालिका सरसफाई अभियानमा जुटेको दाबी समेत गर्नुभयो । शनिबार दुई चरणमा सरसफाई अभियान सञ्चालन गरिएको थियो । शान्तिवाटिकाबाट मन्त्री महासेठ, मेयर शाक्य र उपमेयर हरिप्रभा खड्कीले सरसफाई अभियानको सुरुवात गर्नुभएको थियो । त्यहाँबाट सुरु भएको अभियान भोटाहिटी, जमलहुँदै महाराजगञ्जतिर अघि बढेको थियो ।
दोस्रो चरणको अभियान महाराजगञ्जबाट टिचिङ हस्पिटलहुँदै लाजिम्पार्टतर्फ आएको थियो । यस क्रममा सडक पेटीमा रहेका ¥याम्प हटाएर सडकको ढल तथा साइट ड्रेन जेट मेशिनले सफा गर्ने, अव्यवस्थित रुपमा रहेका केवल, विद्युत, टेलिफोन तथा केवलका पोल तथा तार, खानेपानीका पाइप, निर्माणजन्य फोहोर हटाउने, सडकमा मार्किङ् गर्ने तथा मर्मत गर्ने काम भएका थिए । आजको सफाइका लागि ५ वटा जेट, २ वटा ब्रमुर, २ वटा स्काभेटर र ३ वटा फोहोर संकलन गर्ने सवारी साधनको प्रयोग गरिएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार १०:२४












