देशकाे विकासमा विद्यार्थीहरूको भूमिकामा सबैभन्दा महत्त्वपूर्ण
२२ मंसिर, नुवाकाेट । विद्यार्थीलाई रचनात्मक काममा सहभागी गराउँदै अाएकाे अनेरास्ववियु पञ्चकन्या उच्च मावि कमिटीले वक्तृत्वकला प्रतियोगिता मार्फत विद्यार्थीलाई देशविकासमा लाग्न प्राेत्साहित गरेकाे छ । विद्यालय कमिटीले `देश विकासमा विद्यार्थीको भूमिका´विषयमा शुक्रबार वक्तृत्वकला अायाेजना गर्याे । प्रतियोगितामा भाग लिने १४ जना विद्यार्थीले दमदार तर्कहरु पेश गरेका थिए ।

उनीहरुले देशकाे विकासमा सीपयुक्त जनशक्तिको अावश्यकता धेरैनै रहेकाे भन्दै त्यसका निम्ति विद्यार्थीले अाफूलाई प्रयाेगात्मक र सीपमूलक शिक्षामा केन्द्रित गर्नुपर्ने बताए । सहभागीले भ्रष्टाचार देश विकासका निम्ति महाराेग भएकाे भन्दै यसकाे नियन्त्रण र न्यूनिकरणमा पनि विद्यार्थीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । प्रतियोगितामा संगिता तामाङ पहिलाे, सरस्वती पनेरु दाेेस्राे र वविन ढकाल तेस्राे तथा रमेश तामाङलेे चाैँथाे स्थानप्राप्त गरी पुरस्कृत भए ।

प्रतियोगितामा नेकपा नुवाकोटका नेता राजकुमार रेग्मी, बेलकाेटगढी नगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामहरि पाण्डे, विद्यालयका प्रधानाध्यापक शम्भु तिवारी, अनेरास्ववियुका पूर्व नेता राजु तिवारी, अनेरास्ववियुका पूर्व क्षेत्रीय अध्यक्ष प्रशान्तजंग पाण्डे र अनेरास्ववियु पञ्चकन्या उच्चमावि कमिटीका अध्यक्ष रविन्द्र लाेहनीले देशकाे विकासमा विद्यार्थीको सहयाेग राज्यले लिन जान्नुपर्नेमा जाेड दिए ।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार ०७:०६












