१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

गणतन्त्रपछि पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति भएको छः प्रदीप ज्ञवाली

१० असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गणतन्त्र स्थापनापछि पूर्वाधार निर्माण तथा विकासमा उल्लेख्य प्रगति भएको बताउनुभएको छ ।

गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको आज अवलोकनपछि नेता ज्ञवालीले गणतन्त्रपछि जनताका सबै अपेक्षा पूरा नभए पनि केही भएन भन्ने भाष्य सही नभएको बताउनुभयो । उहाँले राससको तस्बिर प्रदर्शनीले पनि मुलुकले विकास निर्माणका क्षेत्रमा हासिल गरेका प्रगतिबारे ज्वलन्त प्रमाण प्रस्तुत गरेको बताउनुभयो ।

उपमहासचिव ज्ञवालीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईलगायतले स्वागत गर्दै तस्बिरबारे अवगत गराउनुभएको थियो । राससको केन्द्रीय कार्यालय, भद्रकालीमा आयोजित प्रदर्शनीको गत जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन भएको थियो ।

प्रदर्शनीमा गणतन्त्र स्थापनापछि निर्माण गरिएका पूर्वाधार, विसं २०७२ को गोरखा भूकम्पबाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, ऊर्जा, सिँचाइ, पर्यटन, बाटोघाटो, सडक, पुल, स्वास्थ्य, शिक्षाका संरचना, सम्पदा पुनः निर्माण, विमानस्थल, तराईका हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ मधेस दू्रतमार्ग, थानकोट–नागढुङ्गा सुरुङमार्ग, सुनकोसी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, एकीकृत बस्ती, राष्ट्रिय गौरव र प्रदेश गौरवका आयोजनालगायत राससबाट सम्प्रेषित तस्बिर राखिएका छन् । प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर समावेश छन् ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार १८:११