१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

माओवादी केन्द्रले बर्खास्त गरेका सांसद फणीन्द्र देवकोटा सर्वोच्चको शरणमा

६ असार, काठमाडौँ । सर्वोच्च अदालतमा गण्डकी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको कारबाहीविरूद्ध प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले रिट निवेदन दायर गर्नुभएको छ । गण्डकी प्रदेशका मन्त्रीसमेत रहनुभएका देवकोटाले आज दायर गरेको रिट निवेदनमा आफूमाथि भएको कारबाही गैरकानुनी भएको उल्लेख गर्दै उक्त निर्णय कार्यान्वयन नगर्न आदेश माग गरिएको छ ।

रिट निवेदनमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, प्रदेश समिति, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।

रिट निवेदनमा गत जेठ २९ को पत्र र जेठ ३२ को सूचना कार्यान्वयन नगर्नु आदेशको  माग गर्दै  प्रदेशसभा सदस्यको हैसियतमा पूर्ववत् कामकाज गर्न कुनै अवरोध नगर्नु भनी अन्तरिम आदेशको माग गरिएको छ । देवकोटा विसं २०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा २ (१) बाट उनी निर्वाचित हुनुभएको थियोे । माओवादी संसदीय दलको ह्विप उल्लङ्घन गर्दै गत २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी संसदीय दलले कारबाही गरेको थियो ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार २१:२३