१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

भूकम्प पीडितको सबै काम स्थानीय तहबाट, दुर्इ वर्षमा पुनर्निमाण सक्ने सिइअो ज्ञवालीको घोषणा

१९ मंसिर, काठमाडाैँ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले भूकम्पबाट प्रभावित नागरिकहरुको सबै काम स्थानीय तहबाटै हुने बताएका छन ।

मंगलबार रामेछापको पुरानो सदरमुकाममा रहेको गौरी शंकर माविको भवन पुनर्निर्माणपछि हस्तान्तरण कार्यक्रममा सहभागी हुन रामेछाप पुगेका  ज्ञवालीले प्राधिकरणले पुनर्निर्माणका क्रममा देखिएका सबै समस्यालाई तत्काल हल गर्दै जाने नीति अवलम्वन गरेको बताए ।

ज्ञवालीले आगामी दुई वर्षमा पुनर्निर्माणको सबै काम सकेर मुलुकलाई नयाँ रुप दिने प्रतिबद्धता समेत व्यक्त गरे । उनले पुनर्निर्माणसँगै विपन्न र बेरोजगारहरुका लागि जिविकोपार्जन र आय आर्जनका कार्यक्रम पनि एकैसाथ लैजाने तयारी भैरहेको बताए ।

यूएसएआईडीको आर्थिक सहयोगमा १७ महिना अघिबाट स्वच्छन्द जेभी निर्माण सेवाले यो विद्यालयको पुनर्निर्माणको काम सुरु गरेको थियो ।विद्यालय कुल ११ करोड ३३ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

विद्यालयको ८ वटा भवनमा २६ वटा कक्षा कोठा रहेका छन जसमा बैठक कक्ष, पुस्तकालय, बिज्ञान प्रयोगशाला, कम्प्युटर कक्ष, अत्याधुनिक शौचालय चमेना गृह लगायत रहेका छन ।

प्रकाशित मिति : 10:03