१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले नुवाकोटको निर्वाचनः २७ निर्विरोध, २१ उम्मेदवार दुबै प्यानलमा, एक स्वतन्त्र विजयी


२६ जेठ, नुवाकोट । नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली विजयी भएका छन । शुक्रबार भएको निर्वाचनमा मैनाली भारी मतान्तरमा विजयी भए । संस्थापन समूहका उम्मेदवार मैनालीले दश बुँदे सहमति मार्फत एमालेमा पुनः क्रियाशिल समूहका उम्मेदवार बुद्धिबहादुर प्रधानलाई १०८ मतान्तरमा पराजित गरे । अध्यक्षका स्वतन्त्र उम्मेदवार (प्यानलबिहीन) माधवप्रसाद तिवारीले जम्मा १० मत प्राप्त गरे । मैनाली र प्रधानले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए भने तिवारीले एक्लै प्रतिस्पर्धा गरेका थिए । विजयी मैनाली यसअघि जिल्ला कमिटीको अध्यक्ष थिए भने प्रधान उपाध्यक्ष थिए । त्यस्तै तिवारी जिल्ला कमिटी सदस्य रहेका थिए ।

त्यस्तै उपाध्यक्षमा राजेन्द्ररमण खनाल ३४७ मतसहित विजयी भएका छन । उनले सुदर्शन नेपाललाई १०२ मतले पराजित गरे । खनाल एमाले बागमती प्रदेश कमिटीको सदस्यमा पराजित भएपछि जिल्ला कमिटीको उपाध्यक्षमा उम्मेदवार भएका हुन भने नेपाल जिल्ला कमिटीका निवर्तमान सचिव हुन ।

नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य एवं नुवाकोट अधिवेशनका लागि तोकिएका प्रतिनिधि मनोज खड्का निर्वाचित हरूलाई सपथ गराउँदै । तस्बिरः दैनिकी

त्यस्तै सचिवमा शिव चित्रकार ३०६ मतसहित विजयी भए । उनले निलकण्ठ आचार्यलाई २० मतले पराजित गरे । चित्रकार निवर्तनमान जिल्ला कमिटीका सदस्य हुन भने आचार्य उपसचिव हुन । आचार्य निकै शक्तिशाली उम्मेदवारको रूपमा चर्चामा थिए तर चित्रकारले २० मतले पराजित गरे । प्रधान प्यानलले सबैभन्दा बढी आश गरेका उम्मेदवार नै पराजित भएपछि उनीहरू निकै स्तब्ध बनेका छन । त्यस्तै उपसचिवमा राजेन्द्रप्रकाश पाण्डे ३३७ मतसहित विजयी भए । उनले बिरबल तामाङलाई ८२ मतले पराजित गरे । पाण्डे निवर्तमान जिल्ला कमिटीका सदस्य हुन भने तामाङ किस्पाङ गाउँपालिका कमिटीका अध्यक्ष हुन ।

त्यस्तै उपसचिव महिलामा २८६ मतसहित रूपा सापकोटा विजयी भइन । उनले मंगलमाया प्रजापतिलाई ८६ मतले पराजित गरिन । सापकोटा यसअघि बेलकोटगढी नगरकमिटीको अध्यक्ष हुन भने प्राजपति जिल्ला कमिटीको सदस्य हुन । त्यस्तै उपसचिवको स्वतन्त्र उम्मेदवार पार्वती प्याकुरेलले १०६ मत प्राप्त गरिन । पदाधिकारीमा विजयी सबै मैनाली नेतृत्वको प्यानलका उम्मेदवारहरू हुन ।

जिल्ला सदस्य खुलामा समरबहादुर आलेमगर, रमेशरमण खनाल, हरि अधिकारी, कमलबहादुर श्रेष्ठ, अर्जुनप्रसाद पाण्डे र इन्द्रप्रसाद अधिकारी विजयी भए । खुला सदस्यमा विजयी भएका हरि अधिकारी प्रधान प्यानलका हुन भने अर्जुनप्रसाद पाण्डे स्वतन्त्र उम्मेदवार हुन । बाँकी मैनाली प्यानलका हुन ।

सचिवमा विजयी शिव चित्रकार । तस्बिर:दैनिकी

यस्तै जिल्ला सदस्य महिलामा दुर्गादेवी पुडासैनी, धनमाया सुनार, रेखा लामा र शारदा अधिकारी निर्विरोध निर्वाचित भएका छन । जिल्ला सदस्य युवामा प्रज्वल सापकोटा, समिर बलामी, बिष्णुहरि रिमाल सत्य, सुशील पण्डित, जिवन आलेमगर, अमित मगर, अपार बोहरा र रामनारायण श्रेष्ठ विजयी भए । विजयी ८ जना मध्ये समिर बलामी दुबै प्यानलको सूचीमा परेका साझा उम्मेदवार हुन भने पण्डित, आलेमगर र मगर प्रधान प्यानलका उम्मेदवार हुन । बाँकी सबै मैनाली प्यानलका हुन ।

यस्तै जिल्ला सदस्य युवा महिलामा अम्बिका पौडेल, दिपिका तिमल्सिना, देवकी अधिकारी र रोजिना राई विजयी भइन । विजयी मध्ये अधिकारी प्रधान प्यानलकी हुन भने पौडेल र राई दुबै प्यानलका साझा उम्मेदवार हुन । जिल्ला दलित खुलामा बद्रीबहादुर मिजार र केशर सेञ्चुरी विजयी भए । मिजार मैनाली प्यानलका उम्मेदवार हुन भने सेञ्चुरी प्रधान प्यानलका उम्मेदवार हुन । जिल्ला सदस्य महिलामा सीता नेपाली विजयी भइन । उनी प्रधान प्यानलको उम्मेदवार हुन ।

अध्यक्षमा विजयी बद्री मैनाली प्यानलका उम्मेदवारहरू ।

यस्तै जनजाती सदस्यमा सूर्यबहादुर तामाङ र राजकुमार तामाङ विजयी भए । उनीहरू दुबै मैनाली र प्रधान दुबै प्यानलका साझा उम्मेदवार रहेका थिए । यस्तै जनजाति महिलामा शान्ति राई विजयी भइन । उनी मैनाली प्यानलकी उम्मेदवार हुन । यस्तै अल्पसंख्यक तर्फको जिल्ला सदस्यमा दीपक कुमाल विजयी भए । उनी मैनाली प्यानलका उम्मेदवार हुन । यस्तै अपांगता तर्फ डिल्लीरमण सिग्देल विजयी भए । उनी मैनाली र प्रधान दुबै प्यानलका उम्मेदवार हुन ।

यस्तै विदुर नगरपालिकाबाट खुला सदस्यमा अरूणकुमार श्रेष्ठ, दिपक कायस्थ, नविन प्रधान, पल्लहाद खतिवडा, हरिशरण गजुरेल, टलकमान श्रेष्ठ, हरिबहादुर प्याकुरेल, मुकुन्द नेपाल, उद्धव खतिवडा, लेनिन रञ्जित विजयी भए । विजयी भएका दश सदस्य मध्ये खतिवडा, श्रेष्ठ, कायस्थ र रञ्जित प्रधान प्यानलका उम्मेदवार हुन ।

विदुर नगरपालिका महिलामा बच्चुमाया सुनारी मगर, कमला अधिकारी, देविका घिमिरे अधिकारी, गितादेवी तिमल्सिना र विन्दा तिमल्सिना आचार्य विजयी भइन । विजयी मध्ये तिमल्सिनाद्धय दुबै प्यानलका साझा उम्मेदवार हुन भने देविका घिमिरे अधिकारी प्रधान प्यानलकी हुन ।

अध्यक्षमा पराजित बुद्धिबहादुर प्रधान प्यानलका उम्मेदवारहरू ।

यस्तै बेलकोटगढी नगरपालिका तर्फको खुला सदस्यमा नारायणप्रसाद खनाल, गणेश खतिवडा, नवराज तिवारी, विष्णु दाहाल, बाबुराम गजुरेल, नारायणप्रसाद नेपाल, सन्तबहादुर तामाङ, अनन्तराम नेपाल र डिल्लीराम सिलवाल विजयी भए । विजयी नौ मध्ये बाबुराम गजुरेल, नारायणप्रसाद नेपाल र डिल्लीराम सिलवाल दुबै प्यानलका साझा उम्मेदवार हुन । त्यस्तै नारायण खनाल र अनन्त नेपाल प्रधान प्यानलका हुन भने बाँकी मैनाली प्यानलका उम्मेदवार हुन ।

यस्तै बेलकोटगढी तर्फको महिला सदस्यमा अम्बिका तामाङ, इन्दिरा अधिकारी, पवित्रा मुडभरी र सरस्वती उप्रेती तिवारी निर्विरोध निर्वाचित भए । यस्तै तारकेश्वर गाउँपालिका तर्फको खुला सदस्यमा विष्णु तारूके, नारायणप्रसाद रिमाल र केशवप्रसाद घिमिरे विजयी भए । विजयी भएका तीन मध्ये घिमिरे प्रधान प्यानलका हुन भने बाँकी मैनाली प्यानलका उम्मेदवार हुन ।

यस्तै तारकेश्वर गाउँपालिका तर्फको महिला सदस्यमा कोपिल भट्ट विजयी भइन । उनी मैनाली प्यानलकी उम्मेदवार हुन । यस्तै मेघाङ गाउँपालिका तर्फको खुला सदस्यमा नारायण तामाङ र मेघनाथ तामाङ निर्विरोध निर्वाचित भए । महिला सदस्यमा गंगामाय तामाङ निर्विरोध निर्वाचित भइन । यस्तै किस्पाङ गाउँपालिका तर्फको खुला सदस्यमा कुमार न्यौपाने र लालहिरा भट्ट निर्विरोध निर्वाचित भए । त्यस्तै महिला सदस्यमा सेर्कु तामाङ निर्विरोध विजयी भइन ।

उम्मेदवारहरूले मत माग्न प्रयोग गरेको प्रचार सामग्री । तस्बिर: दैनिकी

यस्तै तादी गाउँपालिका तर्फको खुला सदस्यमा विजयकुमार खनाल, मेघराज लामिछाने र प्रेमबहादुर तामाङ विजयी भएका छन । विजयी मध्ये खनाल प्रधान प्यानलका हुन भने बाँकी सबै मैनाली प्यानलका उम्मेदवार हुन । यस्तै तादी गाउँपालिकाको महिला सदस्य तर्फ सरस्वती खनाल विजयी भइन । उनी प्रधान प्यानलकी उम्मेदवार हुन ।

यस्तै शिवपुरी गाउँपालिका तर्फको खुला सदस्यमा मधुसुदन अधिकारी, राजेन्द्र ओली र श्याम लामा एवं महिला सदस्यमा उमा थपा निर्विरोध निर्वाचित भइन । यस्तै लिखु गाउँपालिका तर्फको खुला सदस्यमा मेघनारायण श्रेष्ठ, सुमन पाठक र भिमबहादुर घले विजयी भए । विजयी मध्ये भीमबहादुर घले दुबै प्यानलका साझा उम्मेदवार हुन भने श्रेष्ठ मैनाली प्यानल र पाठक प्रधान प्यानलका उम्मेदवार हुन । यस्तै लिखु गाउँपालिका तर्फको महिला सदस्यमा भने कमला पाण्डे निर्विरोध निर्वाचित भइन ।

यस्तै सूर्यगढी गाउँपालिका तर्फको खुला सदस्यमा नमराज अधिकारी, नारायण गिरी र बुद्धिमान तामाङ निर्विरोध निर्वाचित भए । महिला तर्फ विमला कार्की थपलिया र कल्पना न्यौपाने विजयी भइन । विजयी मध्ये कार्की दुबै प्यानलको साझा उम्मेदवार थिइन ।

मतदाताको रूजु गर्न बसेका अध्यक्षका प्रतिनिधिहरू क्रमशः प्रशान्तजंग पाण्डे, अनुजकुमार श्रेष्ठ र सञ्जिवबहादुर श्रेष्ठ । तस्बिरः दैनिकी

यस्तै दुप्चेश्वर गाउँपालिकाको तर्फबाट खुला सदस्यमा कृष्ण खतिवडा, विजयकुमार तामाङ, बोजबहादुर तामाङ र सुशील खड्का निर्विरोध निर्वाचित भए । दुप्चेश्वर गाउँपालिकाबाट महिला प्रतिनिधि नै नआएको हुँदा महिला सदस्यमा उम्मेदवारी नै परेन ।

यस्तै ककनी गाउँपालिका तर्फको खुला सदस्यमा चन्द्रबहादुर बलामी, सोनाम लामा, राजकुमार लामा र श्यामराज पाठक विजयी भए । विजयी भएका मध्ये बलामी, र लामा द्धय दुबै प्यानलका साझा उम्मेदवार हुन भने पाठक मैनाली प्यानलका उम्मेदवार हुन । यस्तै ककनी गाउँपालिकाको तर्फबाट महिला सदस्यमा लजिता लामा सुनिता र सरिता मोक्तान विजयी भइन । विजयी दुबै मैनाली र प्रधान प्यानलको साझा उम्मेदवार हुन ।

यस्तै पञ्चकन्या गाउँपालिका तर्फको खुला सदस्यमा दीपक कार्की, अर्जुन कार्की र ध्रुव मिश्र विजयी भए । विजयी मध्ये अर्जुन कार्की प्रधान प्यानलका हुन भने अर्का कार्की र मिश्र मैनाली प्यानलका उम्मेदवार हुन । यस्तै मिहला सदस्यमा मनिका थापा निर्विरोध निर्वाचित भइन ।

जिल्ला कमिटीको लेखा समितिको अध्यक्षमा प्रदीप घिमिरे विजयी भए । उनले राजु तिवारीलाई ४२ मतले पारजित गरे । घिमिरे मैनाली प्यानलका हुन भने तिवारी प्रधान प्यानलका उम्मेदवार हुन । यस्तै लेखा समितिको उपाध्यक्षमा पुस्कर शर्मा रिमाल विजयी भए । उनी मैनाली प्यानलका उम्मेदवार हुन । सचिवमा नवराज नेपाल विजयी भए । उनी दुबै प्यानलका साझा उम्मेदवार रहेका थिए । त्यस्तै लेखा समितिको सदस्यमा केशव मिश्र र प्रदीप नेपाल विजयी भए । उनीहरू पनि दुबै प्यानलका साझा उम्मेदवार हुन । यस्तै लेख समितिको महिला सदस्यमा जनुका ढुंगाना र रजनी कार्की विजयी भए । उनीहरू पनि दुबै प्यानलका साझा उम्मेदवार हुन ।

५ पदाधिकारी, १०३ जिल्ला कमिटी सदस्य र लेखा समितिको सात सदस्यसहित ११५ पदमा भएको निर्वाचनमा २७ जना निर्विरोध निर्वाचित भए भने एक पदमा उम्मेदवारी नै परेन । त्यस्तै २१ जना साझा उम्मेदवार विजयी भए । यस्तै एक जना स्वतन्त्र उम्मेदवार समेत विजयी भए । निर्वाचनमा ६१७ सदस्य मतदाता रहेकोमा ५९२ मत खसेको प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काले दैनिकीलाई जानकारी दिए ।

अध्यक्षका प्रत्याशीहरू बद्री मैनाली, माधवप्रसाद तिवारी र बुद्धिबहादुर प्रधान । तस्बिर: पवन फूयँल

यस्तै निर्वाचन सकेसम्म पारदर्शी र निष्पक्ष बनाउने प्रयास गरिएको केन्द्रीय निर्वाचन आयोगका सदस्य एवं नुवाकोट अधिवेशनका लागि तोकिएका प्रतिनिधि मनोज खड्काले बताए । उनले निर्वाचनमा क्रममा भेटिएको प्यानलको लिस्ट केन्द्रीय संगठन विभागमा बुझाइने जानकारी समेत दिए । उनले मतदानको दौरानमा पनि निर्वाचन निष्पक्ष र पारदर्शी बनाउनका लागि मत संकेत हुने केही कुरा पनि साथमा नलिन र मतदानको समयमा मोबाइलको प्रयोग नगर्न अनुरोध गरेका थिए । नेकपा एमालेले प्यानल प्रतिस्पर्धा निषेध गर्ने घोषणा गरे पनि निर्वाचन भएको जिल्ला र प्रदेशमा यो वा त्यो नाममा प्यानलकै बीचमा प्रतिस्पर्धा हुने गरेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार २१:०५