२ असार २०८१, आईतवार | Sun Jun 16 2024

भ्रष्टाचारी ठहर उपसचिवले गरे आत्महत्या, ४० करोडको अर्को भ्रष्टाचार मुद्दा अदालतमै विचाराधिन


११ जेठ, काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको ४८ घण्टा नबित्दै एक प्राविधिक उपसचिवले आत्महत्याको बाटो रोजेका छन । जेठ ८ गते मंगलबार विशेष अदालतबाट प्रेस खरिदको मुद्दामा भ्रष्टाचारी ठहर भएर सजाय र जरिवाना तोकिएका उपसचिव नविन पोखरेलले जेठ १० गते बिहीबार आफ्नै घरमा आत्महत्या गरेका हुन । उनको घरमा सुसाइड नोट समेत भेटिएको र त्यो बरामद गरिएको प्रहरीले जनाएको छ ।

विशेष अदालतले प्रेस खरिदमा भएको भ्रष्टाचारको मुद्दामा मंगलबार फैसला गर्दै न्यायाधीश द्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठले इजलासले पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख रूपैयाँ जरिवाना असुल गर्ने आदेश गरेको थियो । अदालतको फैसलाको ४८ घण्टा नबित्दै पोखरेलले भने आफ्नै कारणले मृत्युवरण गरेको भन्दै आत्महत्या गरेका छन । पोखरेलका विरूद्धमा अख्तियारले २०८० वैशाख ३ गते भ्रष्टाचार मुद्दा दायर गर्दै ४९ करोड ४६ लाख बिगो मागदावी लिएको थियो ।

अख्तियारले गत वैशाख ३० गते पोखरेलसहितका केहीविरूद्ध फेरि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । त्यसमा नविन पोखरेलसँग ४० करोड ८५ लाख ७४ हजार सात सय ४० रूपैयाँ बिगो मागदाबी गरिएको छ । अख्तियारले सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा भ्रष्टाचार गरेको अभियोग लगाएको थियो ।

प्रहरी वृत्त, ठिमीले केएमसी मेडिकल कलेज दुवाकोटमा बिहीबार नै पोखरेलको शवको पोष्टमार्टम गरिसकेको तर प्रतिवदेन आउन बाँकी रहेको जनाएको छ । उनी बिहीबार झुण्डिएको अवस्थामा फेला परेपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । पोखरेल इन्जिनियरिङ समूहका उपसचिव हुन । उनी पछिल्लो समय वन तथा वातावरण मन्त्रालयमा कार्यरत रहेका थिए ।

विशेष अदालतले पोखरेलसहित तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेसका निर्देशक भुवन महर्जनलाई भ्रष्टाचारी ठहर गरेको थियो । यही भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका अन्य पाँच जनाले भने सफाइ पाएका थिए । मुद्दा दर्ताअघि अनुसन्धानमा तानिएका भिआइपीहरू मुख्यसचिवदेखि पूर्वमन्त्री समेतका व्यक्तिहरूलाई भने मुद्दा दर्तामै जोगाइएको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार १८:०२