देश दर्शनमा निस्केका इलामका जेष्ठ नागरिकलाई पूर्वप्रधानमन्त्री खनालकाे स्वागत र अभिनन्दन
१५ मंसिर, काठमाडाैँ । इलामकाे सुर्योदय नगरपालिकाको जेष्ठ नागरिक देश दर्शन टोलीलाई शुक्रबार पूर्व प्रधानमन्त्री झलनाथ खनालले काठमाडौँमा स्वागत गरेका छन् । मंसिर ९ गतेबाट हिँडेको नगरका जेष्ठ नागरिकको टोलीले जनकपुर चितवनको देवघाट, लुम्बिनी,पोखराको भ्रमण सकेर बिहिबार काठमाडाैँ अाइपुगेको हो ।

श्रीकृष्ण प्रणामी मन्दिर नौतनधाम काठमाडौँको सभाहलमा आयोजित कार्यक्रममा पुर्वप्रधानमन्त्री खनालले सबैलाई खदा ओढाएर स्वागत गरेका थिए । खनालले जेष्ठ नागारिक अनुभवको खानी भएको भन्दै जेष्ठ नागरिक प्रति देशमै नमुनाको रुपमा नगरले देखाएको सेवा सम्मानको उच्च प्रशंसा गरेका थिए ।

उनले जेष्ठ नागरिक देवतुल्य भएको कारण जीवनका वृद्धकालमा यसरी देश तथा धामहरु घुम्न पाउनु आफैंमा ठूलो उपलब्धी भएको बताए । कम्युनिष्ट सरकारले वृद्धवृद्धाहरुलाई विशेष सम्मान र आस्था जनाउने पनि उनले बताए । जेष्ठ नागारिक गङ्गामाया खतिवडाले यसरी देश हेर्न पाउला भन्ने आश मारिसकेको अवस्थामा देश दर्शन गराएर नगरपाकिलाले ठूलो गुण लगाएको बताइन् । अर्का जेष्ठ नागरिक हर्कधन राईले यो उमेरमा आफूले नसोँचेको ठाउँ घुम्न पाएकोमा खुशी व्यक्त गरे ।

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार २०:५३












