कैलाश सिरोहियामाथिको अनुसन्धान प्रेस स्वतन्त्रता हनन होइनः रास्वपा
९ जेठ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतान्त्रिक मूल्य र मान्यताप्रति आफु प्रतिवद्ध रहेको प्रष्ट पारेको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहियालाई प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै आलोचना भइरहेका बेला रास्वपाले यसबारे आफ्नो धारणा राखेकाे हाे ।
रास्वपाका महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै अदालतको अनुमति लिएर पक्राउ गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्। अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन। यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन, अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ।’
रास्वपाकै सभापति रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले व्यक्तिगत प्रतिशोधमा सिरोहियालाई पक्राउ गरेर प्रेस जगत्लाई तर्साउन खोजको भनेर आलोचना भइरहेका बेला रास्वपाले त्यसको खण्डन गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासनको अर्को सौन्दर्य हो, कानुन भन्दामाथि कोही हुँदैन। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नैपर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित हो’, ‘कोही-कोहीलाई छुनै हुन्न’ भन्नु सामन्ती कायरता हो। यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ।’
विज्ञप्तिमा अघि भनेको छ, ‘विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति हाम्रो पार्टीको उच्च सम्मान छ। तर एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैरकानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा हामीलाई अस्वीकार्य छ।’
हेर्नुहाेस् विज्ञप्तीः

प्रकाशित मिति : May 22, 2024 at 1:52 pm









