क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
९ जेठ, काठमाडौँ । इस्लामावादस्थित रणनीतिक अध्ययन प्रतिष्ठानको भारत अध्ययन केन्द्रले ‘दक्षिण एसियामा क्षेत्रीय सहयोगका अवसर र चुनौती’बारे छलफल कार्यक्रम आयोजना गरेको छ ।
श्रव्यदृश्यका माध्यमबाट मङ्गलबार आयोजित उक्त कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवार, सार्क मुलुकका कूटनीतिज्ञ, विद्वत् वर्ग तथा विश्वविद्यालयका प्राज्ञको सहभागितामा भएको छलफलमा दक्षिण एसियाली मुलुकका चुनौतीबारे छलफल भएको थियो ।
सार्क राष्ट्रका खाद्य सुरक्षा, बढ्दो जनसङ्ख्या, प्राकृतिक विपत्ति, अन्तर क्षेत्रीय व्यापार घाटा, सम्पर्क सञ्जाल विस्तार, युवामाझ सांस्कृतिक सम्बन्ध विस्तारमा केन्द्रित रहेर सहभागीहरूले मन्तव्य व्यक्त गरेका यहाँस्थित पाकिस्तानी दूतावासले जनाएको छ ।
सहभागीहरूले सदस्य राष्ट्रहरूबीच आर्थिक सम्बन्ध विस्तार, व्यापार, क्षेत्रीय एकीकरण तथा सम्पर्क सञ्जाल विस्तार अपरिहार्य भएको भन्दै सार्क प्रक्रियालाई क्षेत्रीय सहयोगको जीवन्त मञ्चका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रकाशित मिति : May 22, 2024 at 11:27 am









