६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

पशुपतिनाथको भेटी चाेरीमा कोषाध्यक्ष सुवेदी नै संलग्न

८ जेठ, काठमाडौँ । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चाेरीमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न रहेको तथ्य बाहिर आएकाे छ ।

भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारले कोषाध्यक्ष सुवेदीको निर्देशनमा आफूले भेटी चोरेर उनैलाई बुझाएको बयान दिएका छन् । परियारले सुवेदीकै निर्देशनमा दैनिक तीन हजारदेखि १५ हजारसम्म भेटी चाेर्ने गरेकाे बयान प्रहरीसमक्ष दिएका छन् ।

पक्राउ परेका परियारले कोषाध्यक्ष सुवेदीले ज्याकेट लगाएर आउनू भन्ने र रकम संकलनपछि लुकाएर आफ्नो जिम्मा लगाउन भन्ने गरेको बयान दिएका छन् । सीसीटिभी क्यामेरा राखेकाले पक्राउ परिने आशंका गर्दा काेषाध्यक्ष सुवेदीले केहि हुँदैन भन्ने गरेकाे समेत परियारले बयानका क्रममा जानकारी दिएका छन् ।

पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको सूचना पाएपछि निरिक्षणमा गएकाे प्रहरी वृत्त गौशालाको टोलीले ८ जनालाई साेमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाई रहेका छन् ।

यस्तै पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको रकम संकलन केन्द्रका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार ०८:१४