१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

संसदीय छानबिन समितिको कार्यादेशका विषयमा दलहरू सहमति नजिक

६ जेठ, काठमाडौं । सहकारी ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा दलहरू सहमति नजिक पुगेका छन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा आइतबार बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको हाे ।

आइतबार बिहानदेखि सिंहदरबारमा जारी बैठकमा कांग्रेसले छलफलका लागि २० मिनेटको समय मागेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

‘केही समयमा फेरि बैठक बस्नेगरी नेपाली कांग्रेसले २० मिनेटका लागि छलफल गर्ने भनेर समय मागेको छ,’ बर्तौलाले सिंहदरबार बैठकपछि भने। उनका अनुसार करिब करिब सहमतिको ठाउँमा पुगेपनि फिनिसिङ भने भइसकेको छैन।

‘आज बेलुकीसम्म फिनिसिङ गर्न सक्छौँ जस्तो लागेको छ,’ उनले भने। समग्र सहकारीको समस्या समाधान होस् भनेर छलफल लम्ब्याइएको पनि उनले बताए।

नेताहरूका अनुसार उपप्रधान तथा गृहमन्त्रीको नाम नलेख्ने तर समस्याग्रस्त सहकारीको नाम लेख्ने गरी सहमतिको प्रयास भएको छ । यसमै दलहरू सहमति नजिक पुगेका हुन् ।

दलहरूबीच कार्यादेशमा सहमति नहुँदा प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक सुरू हुन सकेको छैन। दिउँसो २ बजेका लागि प्रतिनिधि सभा बैठक सारिएको थियो।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

शनिबार प्रधानमन्त्रीसहित सत्ता पक्षका नेताहरू र प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरूबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको थियो।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार १४:२७