६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश

४ जेठ, काठमाडौँ ।  प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायापालिकालाई भरोसायोग्य बनाउनका लागि सबैको प्रयास जरुरी भएको बताएका छन् ।

नेपाल बार एसोसिएसनको आजदेखि सुरु १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटनमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रतिको जनआस्था वृद्धि गर्न छिटो र गुणस्तरीय न्याय भएको बताए ।

“आम नागरिकको न्यायालयप्रति विश्वस्त हुन सक्ने वातावरण बनाउन जरुरी छ, आशङ्काहरुको निवारण गरी भरोसायोग्य न्याय हुनुपर्छ”, प्रधानन्यायाधीश श्रेष्ठले भने, “सबैको पहुँचमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायापालिकाका लागि सबैको सहयोग आवश्यक छ ।”

प्रधानन्यायाधीश श्रेष्ठले विशेषगरी आम नागरिकहरू विश्वस्त हुनसक्ने वातावरण निर्माण गर्ने ठोस र नतिजामूलक कार्यसम्पादन अहिलेको प्रमुख आवश्यकता भएको बताए । “अदालत र बार एसोसिएसन तथा न्यायाधीश र कानुन व्यवसायीहरूको भूमिका केही फरक रहे पनि सबैको लक्ष्य वा गन्तव्य न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभूति नै हो”, प्रधानन्यायाधीश श्रेष्ठले भने, “आपसी सहकार्यलाई अझ सुदृढ बनाउन जरुरी छ ।”

उनले आगामी साउनदेखि लागू हुने गरी पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाको तर्जुमा भइरहेको र त्यसमा सुझाव दिन पनि नेपाल बारलगायत सम्बद्ध सबैमा आग्रह गरे । प्रधानन्यायाधीश श्रेष्ठले स्वतन्त्र न्यायपालिकाको मान्यतालाई अक्षुण्ण राख्दै संविधानले परिकल्पना गरेको न्यायपालिकाको भूमिकालाई सशक्त बनाउन नेपाल बारले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार १६:३४