१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सबै दलको छलफलबाट राजनीतिक निकास आउँछः मन्त्री अर्याल

४ जेठ, काठमाडाैँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक दलको छलफलबाट राजनीतिक निकास आउने बताएको छ ।

रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिममा सहभागी हुन आज बाँकेको कोहलपुर आएका उनले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै  निकास निकाल्न नसक्ने बताए । उनले संवादबाट गतिरोधको अन्त्य हुने विश्वास व्यक्त गरे । सुसंस्कृत राजनीति गर्न भनेर आएको पार्टीले संसद्मा गरेको गतिविधि दुःखद भएको उनको भनाइ थियो ।

मन्त्री अर्यालले वैदेशिक रोजगारका लागि विभिन्न देशमा गएका र जेलमा भएका नेपालीका विषयमा गहन अध्ययन हुन लागेको उल्लेख गर्दै श्रम स्वीकृति लिएर गएका नेपाली नागरिकका पक्षमा उद्धार, शव व्यवस्थापन, औषधो पचार गर्न वैदेशिक रोजगार बोर्ड गठन भएको बताए । उनले श्रम स्वीकृति नलिई जाने कामदारका लागि मन्त्रालयले कुनै काम गर्न नसक्ने जानकारी दिदैँ महिला कामदार विदेश जाने र असुरक्षा हुने विषय जटिल भएको उल्लेख गरे ।

“वैदेशिक रोजगारीमा संस्थागत र व्यक्तिगत ठगी छ, यसलाई  योजना बनाएर काम गनुपर्छ”, मन्त्री अर्यालले भने । मन्त्रालयका सचिव घनश्याम उपाध्यायले श्रमसँग सम्बन्धित श्रमाधान अभियान सञ्चालन हुन लागेको जानकारी दिए । उनले वैदेशिक रोजगारीका लागि मिटर ब्याजमा पैसा लिने समस्या चिन्ताको विषय भएको बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार १५:५०