१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

रूने कि हाँस्ने ? अवस्थामा नेपाली कांग्रेस, निकासका लागि संसदीय दलको बैठक बस्दै

३१ वैशाख, काठमाडौँ । नेपाली कांग्रेस आफ्नै अडानका कारण रूने कि हाँस्ने ? अवस्थामा पुगेको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबीसहित संसदीय छानविन समितिको माग गरिरहेको कांग्रेसले शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको तर्फबाट माग राख्दै समिति नबन्दासम्म नीति तथा कार्यक्रममा प्रस्तुत गर्न पनि नदिने र संसदको कुनै पनि गतिबिधि गर्न नदिने चेतावनी दिएका थिए । तर सोही दिन सभामुखले संसदको बैठक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन जेठ १ गतेसम्मका लागि स्थगित गरिदिए । जुन दिन सबै सदनको संयुक्त बैठक बोलाइएको छ ।

संसदीय समिति बिना कुनै पनि संसदको कारबाही अघि बढ्न नदिने कांग्रेस आफ्नै पार्टीका पूर्व नेता राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत गर्ने कि उभिएर वा रोष्ट्रम घेरेर बिरोध गर्ने भन्ने धर्मसंकटमा परेको छ । संविधान अनुसार सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संघीय संसदको बैठकमा प्रस्तुत गर्ने व्यवस्था छ । सो अनुसार राष्ट्रपति भोलि जेठ १ गते मंगलबार राष्ट्रपति संसदमा जाने कार्यसूची तय भएको छ । तर कांग्रेस भने माग पूरा नहुँदै अडानमा बस्न नसक्ने अवस्थामा पुगेको छ । यसले कांग्रेसलाई रूने कि हाँस्ने ? अवस्थामा पुर्याएको छ । यसैका लागि नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने तय भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज सोमबार दिउँसो १ बजे संसदीय दलको कार्यसमितिको बैठक र दिउँसो २ बजे संसदीय दलको बैठक बस्न लागेको जानकारी दिएका छन । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

बैठकमा राजनीतिक घटनाक्रम र समसामायिक विषयमा छलफल हुने प्रमुख सचेतक लेखकले बएका बछन । पछिल्लो समय सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । संसद्को बजेट अधिवेशन सुरु भएको र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाले अब पार्टी कसरी अगाडि बढ्ने भन्नेबारेमा बैठकमा छलफल हुने बताइएको छ । कांग्रेसले सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १०:५१