५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026

केपी ओलीमाथि कारबाही गर्न सरकारसँग बालेनको माग

३१ वैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली माथि कारबाहीको माग गरेका छन । तत्कालीन केपी ओली नेतृत्वको सरकारले गिरीबन्धु चिया बगानको जग्गा साटफेर गर्न दिने  निर्णय गरेर १० अर्ब भन्दा बढी राज्यको क्षति गर्न खोजेको भन्दै बालेनले आइतबार सामाजिक सञ्जाल मार्फत ओलीमाथि कारबाहीको माग गरेका हुन ।

उनले तत्कालीन ओली सरकारको विवादित निर्णय रोक्न सर्वोच्चमा मुद्दा हाल्ने काठमाडौँ महानगरका कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई धन्यवाद पनि दिएका छन । सर्वोच्चको संवैधानिक इजलाशले झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट)अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई बदर गरिदिएको थियो ।

यस्तो छ बालेनको टिप्पणी

एउटा मान्छेको इमानदारीता ले के सम्म गर्न सक्छ भन्ने उदाहरण हो यो केस। झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट)अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको छ। अब त्यहाँ कि चिया बगान हुन्छ कि त्यो जग्गा सरकारको हुन्छ । यो जग्गा अहिले को अवस्थामा १० अरब भन्दा धेरै मुल्यको रहेको छ । अब तत्कालीन सरकारलाई कारबाही को भागिदार बनाउनु पर्छ यो सरकारले । जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रकृया बाट बैना फिर्तामा जानू होला तपाईं हरुको जग्गा प्राप्तीको बाटो सकिएको छ । देशको अरबौको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल हाम्रो कानुनी सल्लाहकार ओम प्रकाश अर्याल सरलाई धेरै धेरै धन्यवाद । धन्न तपाइँ जस्तो कोहि हुनु हुन्छ र सरकारी सम्पत्ति बचेको छ ।

प्रकाशित मिति : May 13, 2024 at 8:26 am