१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विदेशी मुद्राको सञ्चिति १४ अर्ब ३६ करोड डलर, १५ महिना वस्तु आयात धान्ने


३० वैशाख, काठमाडौं ।चालु आर्थिक वर्ष (आव) २०८०/८१ को नौ महिनामा विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले बढेकाे छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा विदेशी विनियम सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा चैत मसान्तमा २२.७ प्रतिशतले बढेर १४ अर्ब ३६ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २५.४ प्रतिशत बढेको छ । गत असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेको थियो । तर, चैत मसान्तमा बढेर १६ खर्ब ८८ अर्ब २१ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १५.५ प्रतिशत बढेको छ । गत असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा चैत मसान्तमा बढेर २ खर्ब २३ अर्ब ६५ करोड कायम भएको छ । चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ ।

नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.५ प्रतिशत, १०४ प्रतिशत र २८.९ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार १४:३१